नेकपा एमाले बाराको अध्यक्षमा एकै समूहका ३ सहित पाँचको दावी

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपा एमाले बाराको भोली बुधबार पौष २८ र २९ गते जिल्ला अधिवेशन हुन गई रहेको छ । जानकी सिनेमा हलमा हुन लागेको जिल्ला अधिबेशनलाई एमालेका केन्द्रिय महासचिब शंकर पोखरेलको प्रमुख आतिथ्यतामा उद्धघाटन सम्पन्न भएपछि नयाँ कार्यसमिति चयनको प्रकृया शुरु हुने भएपनि अध्यक्ष लगायतमा उम्मेदबारी घोषणा गरी प्रचारप्रसारमा भने नेता कार्यकर्ता लागि परेका छन् ।

नेकपा एमाले बारामा जिल्ला कार्य समितिका ४ सय सदस्य र हरेक वडाबाट र बिभिन्न क्लस्टरबाट छानिएका करिब ४ सय गरी ८ सय बढी प्रतिनिधिले मत जाहेर गर्ने निर्वाचनमा बिशेषगरी पाँच जनाले उम्मेदबारी दावी गरेका छन् ।

जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि बिनोद साह, रविन्द्रदास श्रेष्ठ, देवनारायण चौधरी, मनोज पौडेल र अध्यानन्द पाण्डेले दावी गर्दै आएका छन् । रविन्द्रदास श्रेष्ठ, देवनारायण चौधरी र मनोज पौडेल एकै समूह पुरुषोत्तम पौडेल निकटका उम्मेदवार हुन भने बिनोद साह अच्युत मैनाली निकट हुन् ।

त्यसैगरी अध्यानन्द पाण्डे बलबिर चौधरी निकट भएको स्थानीय कार्यकर्ताहरुले बताएका छन् । प्रचार प्रमुख समेत रहेका मनोज पौडेलले सहमतिमा आफू बाधक नभएको बताउनु भएको छ ।

त्यसैगरी हाल तदर्थ समितिका अध्यक्ष समेत रहेका देवनारायण चौधरीले देश भरी नै सहमति भइरहेको समयमा बारामा पनि सहमति हुनेमा आफू आशावादी रहेको बताए ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार बिनोद साहले सर्वसहमतिको बाधक नभए पनि नेताहरुले कार्यकर्ताको भावना समेटेर नेतृत्व छनौट गर्नुपर्ने अन्यथा प्रजातान्त्रिक प्रक्रिया निर्वाचनको माध्यमबाट टुङयाउनु पर्ने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्लाहरुको जिल्ला अधिवेशन एकैपटक गरेको भनि प्रचार गरे पनि बारामा भने पौष २८ शुरु हुन लागेको हो । बारा लगायत प्रदेश नं. २ का ७ जिल्लाको जिल्ला अधिवेशन नभएको नेकपा एमाले प्रदेश नं. २ का सचिव समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले बताउनु भयो । यता अधिबेशन के हुने हो कोरोनाको कारण प्रशासनले रोक त लगाउने हैन कार्यकर्ता हरुले प्रश्न गर्न थालेपनि प्रशासनले यो समचार तयार पार्दासम्म रोकेको छैन ।

एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले अधिबेशनको सबै तयारी सकिएको जनाउदै समयमै अधिबेशन गर्ने गरी तयारी भईरहेको बताएका छन् । सरकारले बढ्दो संक्रमणलाई मध्यनजरमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन मंगलबार राति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले आदेश जारी गरेको छ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न भनेको छ। सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने ब्यबस्था मिलाउन सकिने प्रशासनले जनाएको भएपनि बारामा भने स्थानीय प्रशासन मौन छ ।

के हुन्छ नेकपा एमाले बाराको भोली बुधबार हुने जिल्ला अधिवेशन, स्थानीय प्रशासन मौन

 

 

शेयर
प्रतिक्रिया
Skip to content