निजगढमा कोरोनाको संक्रमण बढदो, दुई दिनमा सात पोजेटिभ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 970 - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढमा दुई दिनमा सात पोजेटिभ भेटिएका छन । निजगढ नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा मंगलबार हिजो ३ जनाको परिक्षण हुदा दुई जनामा कोरोना पोजेटिभ देखिएकोमा आज बुधबार बढेर आठ जनामा पाच जना कोरोना पोजेटिभ देखिएको छ । जसमा कर्मचारी देखि पत्रकार राजनैतिक कार्यकर्ता र स्थानीय रहेका छन् ।

कोभिड–१९ को तेश्रो भेरियन्ट ब्यापक भईरहेपनि स्थानीय सरकारका प्रमुख उपप्रमुख भने अझैपनि सभा सम्मेलनमा अतिथि बन्न नछाडेको भन्दै स्थानीयले बिरोध गरेका छन् । दुई दिनमै आठ जना कोरोना पोजेटिभ देखिए पनि धेरैको भेला उपस्थिती गरी कार्यक्रम हुने क्रम भने रोकिएको छैन । स्थानीय सरकार नगरका जनप्रतिनिधिनै अतिथि बनेर हुने यस्ता हजारौका भेलाले संक्रमण समुदाय स्तरमा पुग्ने आम चिन्ता छ । संघीय सरकारले २५ जना भेला हुन रोक लगाई बिद्यालय बन्द गरेको दुई दिन बितेपनि नगरपालिकामा भने आफै निर्वाध राजनैतिक सभा सम्मेलन र कार्यक्रम हुनु राम्रो पक्ष नभएको स्थानीयले बताएका छन् ।

 

बच्ने उपाय
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ । यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ ।

अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।

ओमिक्रोन भेरियन्ट के हो?

पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।

ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।

नेपालमा पनि आज ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन्।

किन यसको नाम ओमिक्रोन नै राखियो ?

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राख्ने निर्णय गरेको छ। जसअनुसार बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टको नाम बेटा राखिएको थियो। भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखिएको थियो। अहिले भेटिएको भेरियन्टको नाम नु राखिनु पर्थ्यो। त्यसपछि अर्को अल्फाबेट सी थियो।

नु राख्दा धेरै मानिसले न्युजस्तो सुन्न सक्ने र सी धेरै मानिसको थर (जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ) हुने भएकाले यी अल्फाबेटलाई छोडेर ओमिक्रोन राखिएको हो।

आफ्नो नीतिअनुसार कुनै जातीय समुदाय, सामाजिक, राष्ट्रिय, क्षेत्रीय र पेशागत समूहलाई असर पर्ने गरी भेरियन्टको नाम नराखिने डब्लुएचओले जनाएको छ।

ओमिक्रोनबारे वैज्ञानिकहरू किन चिन्तित छन्?

दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले सुरूमा यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० वटाभन्दा धेरै म्युटेसन देखिएको जानकारी दिएका थिए। पछि बोत्स्वानाले सार्वजनिक गरेको केही नमूनाहरूमा झन् यसअघि कहिले पनि नदेखिएका ५० विभिन्न म्युटेसन भेटिएका थिए।

कोरोनाभाइरस आफ्नो स्पाइक प्रोटिनको मद्दतले मानव शरिरको कोषिकाहरूमा छिर्छ। अहिलेका भ्याक्सिनले त्यही स्पाइक प्रोटिनलाई टार्गेट गरेका छन्।

स्पाइक प्रोटिन त्यति धेरै म्युटेसन हुँदा यसले भ्याक्सिन लगाएपछि शरिरमा बनेका एन्टिबडीलाई छल्ने हो कि भन्ने डर छ। स्पाइक प्रोटिनमा भएका यी म्युटेसन रोग सर्नेमा पनि अझै धेरै मद्दत गर्छ कि अर्को डर पनि छ।

हामी चिन्तित हुनुपर्छ ?

ओमिक्रोन पत्ता लागेपछि यसले संसारभरि तरंग ल्याएको छ। जापान, इजरायल, मोरोक्कोलगायत मुलुकले विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् भने अमेरिका, बेलायत र इयूका मुलुकहरूले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट उडान बन्द गरेका छन्। नेपालले पनि हङकङसँगै दक्षिण अफ्रिकासहित आसपासका मुलुकबाट प्रवेश प्रतिबन्ध गरेको छ।

जनस्वास्थ्य अधिकारीहरूले भने अहिले नै ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टभन्दा खतरनाक छ भन्ने प्रमाणित भइनसकेको बताएका छन्।

ओमिक्रोन कति संक्रामक छ र संक्रमण भएपछि यसले कति सिकिस्त पार्छ भन्ने पनि अहिले थाहा छैन। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पछिल्लो समय ओमिक्रोनको संक्रमण धेरै फैलिएको र पहिला संक्रमित भइसकेकाहरूलाई फेरि यसको पनि संक्रमण देखिएको बताएका छन्।

बेटा र डेल्टा भेरियन्ट आउँदा यति धेरै संख्यामा पहिला संक्रमित भएकाहरूलाई फेरि संक्रमण नभएको उनीहरूको भनाइ छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन दुई गुणा बढी संक्रामक हुन सक्ने देखिएको छ।

एउटा अध्ययनले ओमिक्रोनको संक्रमणले धेरै सिकिस्त नपार्ने देखाएको छ। त्यो अध्ययन दक्षिण अफ्रिकाका युवाहरूमा मात्र गरिएकाले वृद्धवृद्धालाई यसको असर कस्तो पर्छ भन्ने यकिन छैन।

दक्षिण अफ्रिकाको मेडिकल एसोसियसनकी अध्यक्ष डाक्टर एन्जेलिक कोइट्जीले अस्पतालहरू भरिभराउ नभएको र अस्पताल आउने धेरै जना खोप नलगाएकाहरू रहेको बताएकी छन्। आफूले भेटेका धेरै संक्रमितले स्वाद र गन्ध नगुमाएको र उनीहरूमा अलिअलि खोकीमात्रै रहेको उनको भनाइ छ।

भ्याक्सिनले काम गर्छन् ?

विज्ञहरूले अहिले उपलब्ध भ्याक्सिनहरूले नै ओमिक्रोन भेरियन्टविरूद्ध केही हदसम्म काम गर्ने अपेक्षा गरेका छन्। खोप लगाएको ६ महिनापछि एन्टिबडी कम हुँदै जाने कुरालाई ध्यानमा राखेर बुस्टर डोज लगाउनु पर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।

अमेरिकी सरकारका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले मानिसहरूलाई बुस्टर डोज लगाउन र मास्क लगाउने, भीडमा नजानेजस्ता सुरक्षाका तरिका अपनाउन आग्रह गरेका छन्।

केही वैज्ञानिकहरूले भने बुस्टर डोज नलगाए पनि पहिला लगाएका भ्याक्सिनले बनाएका टी सेलले भने काम गरेर सिकिस्त बिरामी हुनबाट रोक्ने आशा व्यक्त गरेका छन्।

खोप निर्माता मोडेर्ना, फाइजर-बायोएनटेक, जोन्सन एन्ड जोन्सन र अष्ट्राजेनेकाले आफूहरूले ओमिक्रोनको अध्ययन गरेको र नयाँ भेरियन्टविरूद्ध आफूहरूले काम गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।

शेयर
प्रतिक्रिया
Skip to content