निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलको मुख्यमन्त्री पाण्डे टोलीले अनुगमन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलको बिहीबार बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सहितको टोलीले अनुगमन गरेका छन् । प्रदेश नं. २ का मुख्यमन्त्रीले अनुगमन गरी निर्माणका लागि दबाब दिनुपर्ने भएपनि प्रदेश नं. ३ बाग्मती प्रदेशका मुख्यमन्त्रीले अनुगमन निरिक्षण गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्चा छ ।

मुख्यमन्त्री पाण्डेसहितको टोलीले विमानस्थलको पश्चिम उत्तरी क्षेत्र पसाहा पुल, टाँगियाबस्ती, ककरी, कोल्हवी, भीमसखुवा हुँदै निजगढको तामागढी विमानस्थल निर्माण क्षेत्रको अवलोकन गरेका थिए ।

अवलोकनपछि निजगढ नगरपालिकाको सभाहलमा आयोजित अन्र्तकृया कार्यक्रममा बोल्दै उनले विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले विमानस्थल निर्माणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चासो र चिन्ता रहेको बताए । उनले नेपाल र नेपालीको विकास, समृद्धि र भविष्यसँग जोडिएको यस राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना निर्माणमा ढिलाई हुदै आएको बताए । झण्डै ३० बर्ष अघिदेख चर्चामा रहेको र सबै परिक्षणले उत्कष्ट भई अगाडि बढेको भएपनि सरकारले कुन मोडेलमा बनाउने भनेर निर्णय नगरेका कारण ढिलाई हुदै आएको छ ।

उनले विमानस्थलको मध्यभागमा रहेको टाँगियाबस्तीका बासिन्दाको ब्यबस्थापन गरेर विमानस्थल निर्माणको काम अघि बढाउनु पर्ने बताए ।

कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विजय यादवले विमानस्थल निर्माणका लागि टाँगियाबस्ती मुख्य समस्याको रूपमा रहेको बताए । उनले कैयौंपटक यसको उचित व्यवस्थापनको गृहकार्य गरिसकेको तर सरकारले बेलामा निर्णय नगर्दा समस्या समाधान नभएको बताए ।

उनले काटगाँउ, ककरीलगायतको ११० विघा ३ कठ्ठा नम्बरी जग्गामध्ये ४६ करोड ९१ लाख मुआब्जा दिई करीब ७० बिघा जग्गा आयोजनाले आफ्नो स्वामित्वमा लिएको र बाँकी जग्गा अधिग्रहणको प्रक्रिया चलिरहेको बताए । डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणका लागि १९ सय हेक्टर वन क्षेत्रमा नम्बरिङ, ट्यागिङ कार्य शुरू गरिए पनि दुर्ईवटा प्लाटिङ्गमा ५७ हजार ३५० मा नम्बरिङ, ट्यागिङ भएको बताए । उनले सो कार्यलाई निरन्तरता दिन थप बजेट प्रवाह नहुँदा सो कार्य रोकिएको जानकारी गराए ।

अन्र्तक्रिया कार्यक्रममा निजगढका नगरप्रमुख सुरेशकुमार खनालले टाँगियाबस्ती स्थान्तरण चाडो भन्दा चाडो गरी उनीहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने बताए ।
अवलोकनमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, नेपाली काग्रेस निजगढ नगरका सभापति नबराज तिमल्सिना, महिला नेतृ मिना लामा लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content