विद्यालय संचालन गर्ने निजगढ नगरपालिकाको तयारी

तराइ संचार
तराइ संचार 874 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ, ११ असोज– निजगढ नगरपालिकाले नगरभित्र संचालित सामुदायिक र संस्थागत विद्यालय संचालन गर्ने तयारी थालेको छ । नगरपालिकाले प्रतक्ष्य सिकाई कार्यविधि–२०७७ तयार पारेर सोहीअनुसार विद्यालय संचालन गर्ने तयारी गरेको हो । नगरपालिकाले तयार पारेको कार्यविधि आइतबार बसेको निजगढ नगर कोरोना भाइरस महामारी नियन्त्रण, न्युनीकरण, व्यवस्थापन तथा अनुगमनसमितिले पारित गरेको छ भने नगर कार्यापालिकाले निर्णय गरेपछि कार्यान्वयमा आउने छ । कार्यविधिले प्रतक्ष्य सिकाइ क्रियाकलाप संचालन गर्नुअघि र सिकाई क्रियाकलाप संचालन गर्दा अपनाउनुपर्नें सुरक्षा मापदण्डको बारेमा व्यवस्था गरेको छ । जसअनुसार विद्यालयले थर्मल गनको प्रयोग गरेर विद्यार्थीको तापक्रम मापन गर्नुपर्ने र मास्क लगाएरमात्र प्रवेश दिनुपर्ने व्यवस्था छ । त्यसैगरी विद्यालयले स्यानिटाइजर र साबुन पानीले हात धुने व्यवस्था गर्ने व्यवस्था मिलाउन, विद्यार्थीलाई आकास्मिक सेवाको लागि विद्यालय हाताभित्र प्राथमिक उपचारको व्यवस्था गर्न र विद्यालय कक्षा कोठा, वाचनालय, प्रयोगशाला, खानेपानी धारा–ट्याङ्की, शौचालयलगायत विद्यालय हाताको सरसाफाइ र निर्मलीकरण गर्नुपर्ने पनि भनिएको छ । कक्षा संचालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक र सरोकारवालाहरुको भेलाबाट विद्यालय संचालनको लागि लिखित प्रतिवद्धता लिनुपर्ने र सोको कागजात कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यविधिले गरेको छ । त्यसैगरी प्रअ र शिक्षकहरुको पिसिआर जाचँ गराउनुपर्ने पनि भनिएको छ । यसको लागि आइतबार नै स्वास्थ्य शाखामार्फत ३८ जना शिक्षकको स्वाब संकलन भइसकेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी कक्षा कोठामा एउटा बेन्चमा बढीमा २ जना विद्यार्थीमात्रै राख्नुपर्ने, विद्यालय हाताभित्र भौतिक दुरी कायम गर्नुपर्ने, विदाको दिनमा पनि कक्षा संचालन गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी गरी विद्यालयमा प्रार्थनासभा, भिडभाड हुने कार्यक्रम र खेलकुद कार्य संचालनमा रोक लगाइएको छ । कार्यविधिमा मध्यान्तरको समय कटौति गरिएको छ । विद्यार्थीहरुले आफनै घरबाटै खाजा ल्याउनुपर्ने तथा कोचिङ्ग, टिउसन र अतिरिक्त कक्षा संचालनमा पनि रोक लगाइएको छ । विद्यालयहरुले मापदण्ड पुरा गरे नगरेको हेर्न र आवश्यक कारवाहीको लागि नगर प्रमुख संयोजक रहेको एक अनुगमन समितिको व्यवस्था पनि कार्यविधिमा छ ।

संक्रमण जोखिम कम गर्दै प्रतक्ष्य शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न कार्यविधि तयार पारिएको र सोहीअनुसार नगरभित्रका विद्यालय संचालनमा आउने निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँले नगर कार्यपालिकाले पारित गरेपछिमात्रै कार्यविधि कार्यान्वयमा आउने जानकारी पनि दिनुभयो । लामिछानेकाअनुसार कार्यविधिले तोकेअनुसारको मापण्ड पुरा भए नभएको अनुगमनपछिमात्रै नगरपालिकाले विद्यालयलहरुलाई सिकाइ क्रियाकलाप संचालन गर्ने अनुमति प्रदान गर्ने छ । साभार कृपा

शेयर
प्रतिक्रिया
Skip to content