बारा । प्रदेश २ को नाम मधेश नामकरण भएको छ भने स्थायी राजधानी जनकपुर भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा गोप्य मतदानको माध्यमले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ।
सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरे भने सोमबार नै प्रदेश सभाको पहिलो बैठकमा भएको मतदानले स्थायी राजधानी जनकपुर टुंगो लगाएको हो । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी जसपासँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।
तर अरु नेपाली काग्रेस र एमालेकाका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेशको नाम र राजधानीका बिषयमा टुङगो लगाएको हो ।
मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले बताउनु भएको छ । यसअघि ३ चैत २०७६ मा मधेस नामको पक्षमा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।
स्थायी राजधानी जनकपुर
प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम रहेको छ ।