काठमाडौं — कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राखेको छ । त्यसैगरी रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको छ । यसअघि सीसीएमसीसीले माघ १५सम्म बन्द गर्ने निर्णय गरेको थियो ।
भोली माघ १५ देखि के हुने भन्ने अन्यौल चिर्दै सीसीएमसीसीले माघ मसान्तसम्म स्मार्ट लकडाउन कायम राख्ने निर्णय गरेको हो ।
सीसीएमसीसीले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
आज शुक्रबार बसेको सीसीएमसीसी बैठकले निजी र ट्याक्सीमा मात्र जोरबिजोर प्रणाली कायम राख्दै सार्वजनिक सवारी साधनमा यो प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।