स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र हुने

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र हुने भएको छ । स्थानीय तहको निर्वाचन देशैभर एकै चरणमा गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । जेठको तेस्रो वा चौथो साता निर्वाचन गर्ने गरी मिति तोक्ने सम्भावना भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँगको परामर्शपछि मिति तोक्नेछन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेका हुन । जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको सत्तारुढ गठबन्धनका सहभागी बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको छ ।

सत्तारुढ दलले स्थानीय तह निर्वाचन ऐन भने संशोधन गर्ने निर्णय गरेका छन् । ऐन संशोधन गर्न नियमित प्रक्रियाबाट संसदमा विधेयक लैजाने गठबन्धनका एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार ऐनमा नै जनप्रतिनिधिको कार्यकाल संविधानमा जस्तै पाँच वर्ष तोक्ने र त्यसको ६ महिनाभित्र निर्वाचन गर्ने व्यवस्था गर्ने गठबन्धनको तयारी छ । त्यस्तै नयाँ निर्वाचनबाट आउने जनप्रतिनिधिको कार्यकाल पहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएको भोलिपल्टबाट शुरु हुने व्यवस्था ऐनमा गर्ने तयारी छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । पहिलो चरणको निर्वाचन वैशाख २९ गते र तेस्रो चरणको निर्वाचन असोज २ गते भएको थियो । स्थानीय तह निर्वाचन ऐनले पहिलो चरणको मितिलाई निर्वाचन भएको मिति मानेर त्यसको ७ दिनपछि कार्यकाल शुरु हुने मानेको छ । गठबन्धनका दलहरुले संविधानसँग ऐन बाझिएको भन्दै ऐन संशोधन गर्नुपर्ने बताउँदै आएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content