जनकपुर । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पुराना कर्मचारीहरू लगाएको ताला प्रहरीले तोडेको छ । उनीहरूले लगाएको ताला प्रहरीले तोडेपछि उनीहरू पुनः आन्दोलित भएका हुन् ।
नेपाल रेल्वे कम्पनीद्वारा पुराना कर्मचारी हटाई नयाँ कर्मचारी भर्ना गरेर तालिम सञ्चालन गर्न थालेपछि उनीहरु आन्दोलित भएका हुन् । प्रहरी परिचालन गरेर सञ्चालन भइरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पुरानो पारिश्रमिक भुक्तानी गर्नुपर्ने लगायतका माग राखेका छन् । महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलित भएका हुन् ।
नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर९कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।
प्रबन्धक झाले कामै नगरी ज्यालादारी कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे । महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए ।