बारा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिएको आरोपमा बाराको कोल्हवी नगरपालिका–११ रमपुर्वागाउँका वडा सचिव विनोदप्रसाद साहलाई नियन्त्रणमा लिएको छ ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीकाअनुसार साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे ३ हजार रुपैयाँ घूस लिएका थिए ।
वडासचिव साहलाई अख्तियार आयोग कार्यालय, हेटौंडाको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा साह लाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भई रहेको अख्तियारले जनाएको छ ।
यस्तो त सामान्य घटना हो सेवाग्राहीले उजुरी गरेपछि पक्राउ परेको । अहिले केही समय यता सेटिङमा ठुला अनियमितता हुने गरेको स्थानीयले बताएका छन् । बाराका स्थानीय तहमा अनियमितरुपमा सेवाग्राहीसग पछिल्लो समय रकम माग गर्नेक्रम बढेको पालिकामा भईरहेको अनियमिततामा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयहरुले आरोप लगाएका छन् ।
जनप्रतिनिधिहरुको अन्तिम कार्यकालको समय सकिन लागिरहेको र निर्वाचन नजिकिएसगै आर्थिक हिनामिना बढेपनि अनियमितता उपर कार्वाही हुन सकेको छैन ।