जनकपुर । महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी फुटेको छ । लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, संविधासभा सदस्य विजयकुमार सिंह लगायतका नेता कार्यकर्ताहरू लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने पत्रकार सम्मेलन गर्दै उद्घोष गरेपछि लोसपा फुटेको हो ।
जिल्ला समन्वय समिति, धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरेको तथा फागुन १५ गते तमलोपामा प्रवेश गर्ने बताए । लालले मधेसवादी दल तथा नेतृत्व पंक्तिमाथि जनता,जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई गन्तब्यमा पुराउन नसकेको, सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पेको आरोप लगाएका छन् । धनुषाका धिरेन्द्रबहादुर सिंह, रामजी राय, उमेश मण्डल, सतिश लाल कर्णलगायतका नेताहरूले लोसपा परित्याग गरेर तमलोपा प्रवेश गरेको घोषणा गरेका हुन् ।
मधेस आन्दोलनपछि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० गठन भएको थियो। पछि तत्कालीन ६ वटा मधेस केन्द्रित दलहरूसँग एकीकरणपछि राष्ट्रिय जनता पार्टी ९राजपा० बनेको थियो।
राजपा गठनपछि निर्वाचन आयोगले तमलोपा नाम ‘फ्रिज’ गरेको थियो। जनता समाजवादी पार्टी जसपा भित्र विवाद चलिरहेकै बेला धनुषाका रविशंकरलाल कर्णले आफ्नो नेतृत्वमा तमलोपा दर्ता गराएका थिए। तमलोपाको अध्यक्षमा रविशंकर लाल कर्ण रहेका छन् ।