निजगढ नगरपालिकाले सडक अतिक्रमण भोली शुक्रवारदेखि हटाउन कार्वाहीमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.8k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । सडकको अधिकार क्षेत्र भित्र राखिएका अव्यवस्थित पसल, टहरा, ठेला लगायत अन्य सामाग्रीहरु हटाउन निजगढ नगरपालिकाले पटक पटक सुचना प्रकाशन गरेपनि अटेर गरेपछि सडक खाली गराउन नगरपालिकाले कार्वाहीमा उत्रने निर्णय गरेको छ ।

नगरपालिका कार्यालयले १५ दिने सुचना प्रकाशित गरी सडक खाली गराउन निर्देशन भएपनि स्थानीयले अटेर गरेपछि सडक खाली गराउने गरी कार्वाही गर्ने निर्णय गरेको हो ।

निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा बसेको बैठकले नगर कार्यपालिकाको मिति २०७८।०९।३० गतेको निर्णय अनुसार यस नगरपालिका क्षेत्र भित्रका मुख्य सडक तथा भित्री सडकहरुमा विभिन्न निर्माण सामाग्रीहरु अव्यवस्थित ढंगले लामो समयसम्म राखी सडकमा सवारी साधन तथा मानिसहरु आवतजावत तथा हिंडडुल गर्न कठिनाई बनाएकाले हटाउने निर्णय गरेको थियो ।

सडकहरुको दिगोपनामा समेत प्रतिकूल असर परीरहेकोले यस नगरपालिका क्षेत्र भित्र रहेका सबै सडकहरुको अधिकार क्षेत्र भित्र सडकलाई अबरोध पुग्ने गरी कुनै पनि सामाग्रीहरु राख्न नदिने निर्णय भएकोमा सो बमोजिम सडक खाली गर्न १५ दिनको म्याद दिई सूचना समेत प्रकाशन भएपनि स्थानीयले अटेर गर्दै आएका छन् ।

हाल यस नगरपालिमा पर्ने पूर्व पश्चिम राजमार्गको खण्डको सडकको अधिकार क्षेत्र भित्र पर्ने शहीद चोक, बुद्ध चोक समेतमा रहेका अव्यवस्थित पसल, ठेला, टहरा सडकबाट खाली गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताए । नगरपालिकाका प्रमुख, उपप्रमुख, सम्बन्धित वडा अध्यक्ष र उद्योग बाणिज्य संघ समेतको उपस्थितिमा स्थानीय सुरक्षा निकायहरु सँगको सहयोग एवं समन्वयमा सडक खाली गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content