कलैया । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यही फागुन २८ गते शनिबारदेखि बारामा पनि शुरु भएको छ । बारामा यस अघि पनि पटक पटक गरी १०औ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने गरेपनि रोगीको संख्या घट्न सकेको छैन । धेरै जिल्लाहरुमा हात्तीपाइले रोग उन्मुलन भई सकेको छ ।
बारा लगायत केही जिल्लामा भने हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने काम प्रभावकारी नहुदा रोगीको संख्या घट्न सकेको छैन ।
१५ वर्षदेखि सुरु गरिएको रोगविरुद्धको सचेतनामूलक कार्यक्रम र स्वास्थ्यकर्मीको निगरानीमा घरघर पुगेर औषधि खुवाइने योजनाले लक्ष्यअनुसारको सफलता नपाएपछि औषधि खुवाउने अभियान पटक(पटक चलाइँदै आइएको छ ।
बारामा भने स्वास्थ्यकर्मीको निगरानीमा घरघर पुगेर औषधि खुवाउनु पर्ने भएपनि औषधी दिएर नखुवाई हिड्ने गरेका कारण औषधी नखाने गरेको देखिएको छ ।
सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गरिसक्ने र सन् २०२२ मा उक्त रोगलाई शुन्यमा झार्ने सरकारले लक्ष्य भएपनि स्वास्थ्यकर्मीको लापर्वाहीका कारण औषधी नखुवाई हिड्ने र स्वयमसेविकाको भरमा औषधी खुवाउने गरेका कारण बारामा यो कार्यक्रम प्रभावकारी कार्वान्वयन हुन सकेको छैन ।
सन् २००७ देखि लगातार औषधि खुवाउदै आएपनि खुवाउन जाने क्रममा मानिस नभेटिए छाडिदिने र निगरानीमै औषधी खुवाउनु पर्ने भएपनि औषधी छाडेर हिड्दा यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । अभियान चलाइए पनि बारामा पनि अझै रोगको उच्च जोखिम रहेको बताईएको छ ।
स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवकाअनुसार जिल्लामा करिब १२ सय हात्तीपाइले रोगी रहेका छन् । कलैया उपमहानगरपालिकामा सबैभन्दा बढी पौने दुई सय जनामा हात्तीपाइले रोग रहेका छन् । क्युलेक्स नामको लामखुट्टेको टोकाइबाट सर्ने यस रोगले अशक्त बनाउनुको साथै हाइड्रोसिलको रोगी बढाउने गर्दछ ।
मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले औषधि खुवाउने काम प्रभावकारी नभएको कारण मधेस प्रदेशको ८ जिल्लामध्ये बारा सबैभन्दा बढी प्रभावित र उच्च जोखिमको जिल्ला हो । स्थानीय तहले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान प्रभावकारीरुपमा प्रचारप्रसार तथा औषधी खुवाउने कार्य भत्ता लिने तर काम प्रभावकारी नगर्ने गरेका कारण बारा उच्च जोखिममा रहेको जिल्ला बन्दै आएको छ ।