मधेश प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता सम्पन्न, पर्सा टिम प्रथम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.6k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिमरा÷नेपाल तेक्वान्दो संघ मधेस प्रदेश तेक्वान्दो कार्य समिति निजगढको आयोजनामा मधेश प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता सम्पन्न भएको छ । १४औं दक्षिण एशियाली खेलकुदमा सहभागी गराउन दुई दिने छनौट प्रतियोगिता मंगलवार सम्पन्न भएको हो ।

पथलैयास्थित सशस्त्र प्रहरी बलको कभर्ड हलमा भएको प्रतियोगिताबाट २५ खेलाडी छनौट भएका छन् । प्प्रतियोगितामा ११ स्वर्ण, एक रजत र एक कास्य जित्दै पर्सा प्रथम भएको छ ।

यसैगरी तीन स्वर्ण, एक रजत र एक कास्य जितेको रौतहटले दोस्रो स्थान हासिल गरेको छ । यसैगरी तीन स्वर्ण, तीन रजत र दुई कास्य जितेको बाराले तेस्रो स्थान हात पारेको छ । प्रदेशबाट छानिएका खेलाडीले राष्ट्रिय छनौट खेल्नेछन् । बारा, रौतहट र सर्लाहीका तीन –तीन खेलाडी छानिएका छन् । यसैगरी महोत्तरी र सप्तरीबाट दुई–दुई खेलाडी छनौट भएका छन् । सिरहाबाट एक जना खेलाडी छनौट भएको प्रतियोगिताका निर्णायक बिजय शाह ठकुरीले बताउनु भयो ।

प्रतियोगितामा सर्लाहीले तीन स्वर्ण, एक रजत र एक कास्य जितेको छ । यसैगरी सप्तरीले दुई स्वर्ण र ६ कास्य हात पार्दा सिरहाले एक स्वर्ण, पाँच रजत र ६ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा सहभागीता जनाएको धनुषा भने पदकविहिन बन्न पुग्यो ।

प्रतियोगितामा पर्साकी पुष्पा रखाल मगर बेस्ट फिमेल फाईटर र रौतहटका बर्षात मोक्तान बेस्ट मेल फाईटर घोषित भएका छन् । प्रथम, द्धितीय र तृतीय भएका टिमसहित पदक बिजेता खेलाडीलाई सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय पथलैयाका प्रमुख, बरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक लक्ष्मणबहादुर सिंह, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, बब्लु सिवाकोटी लगायतले पुरस्कार वितरण गरेका थिए । मधेस प्रदेश संघका उपाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भुवन थापाले गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक टार्जन सुब्बा, अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नेपाल तेक्वान्दो संघ, मधेस प्रदेश कमिटीका सदस्य मुक्ती यादव, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, सशस्त्र प्रहरी निरिक्षक लोकबहादुर थापा, सशस्त्र प्रहरी निरिक्षक सुभाष भट्टराई, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, नेपाल तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ, नेपाल तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष बद्री सापकोटा, नेपाल तेक्वान्दो संघ रौतहटका अध्यक्ष बिरबहादुर रानामगर, नेपाल तेक्वान्दो संघ धनुषाका अध्यक्ष तिलक लामा, नेपाल तेक्वान्दो संघ सिरहाका अध्यक्ष ध्रुव लामा, तेक्वान्दो प्रशिक्षक जिवनराज भण्डारी, तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, तेक्वान्दो खेलाडी प्रेमकुमार दर्लान, सञ्जिव नेपालीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघले सहयोगी संस्थासहित, जुरी र निर्णायकलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यसअघि छनौट प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालयका प्रमुख बरिष्ठ सशस्त्र प्रहरी उपरिक्षक लक्ष्मणबहादुर सिंहले गरेका थिए । उद्घाटन समारोहमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नान्तिराज गुरुङ, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक मनोजित कुवँर, राजश्व चुहावट नियन्त्रण शाखाका सशस्त्र प्रहरी निरिक्षक सुभाष भट्टराई, होली गार्डेन ईङलिस स्कुलका प्रिन्सिपल भुवन राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रदेशको आठ जिल्लाको तेक्वान्दो संघका अध्यक्ष, प्रशिक्षक, निर्णायकलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघले तेक्वान्दोको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । पथलैयामा तेक्वान्दो खेल स्थापनाका क्रममा अहम भूमिका निर्वाह गरेको भन्दै संघले स्वर्गिय चन्द्रबहादुर थापालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । यसैगरी कार्यक्रममा तेक्वान्दो प्रशिक्षक प्रमोद मानन्धर, प्रेमकुमार दर्नाललगायतलाई सम्मान गरिएको थियो ।

तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन भुवन थापाले गरेका थिए । कार्यक्रममा संघका प्रदेश महासचिव राजकुमार लामाले स्वागत मन्तब्य राखेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content