जीतपुरसिमरा गोल्डकपको तयारी पूरा, चैत्र १० गते उद्घाटन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको १२औं संस्करण चैत्र १० गतेदेखी सुरु हुने भएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक नव जनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख थप गरी १० लाख पुराएको छ भने द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरी पाच लाख राशी बनाएको छ ।

ए डिभिजनका पाँच सहित प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा साविक बिजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, एपिएफ एफसी, सुदुरपश्चिम ११, बिएफसी चितवन, बिजय युथ हेटौडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल फ्रेण्ड्स क्लब र सुदुरपश्चिम ११ बीच हुनेछ । फल्ड लाईटमा हुने डे नाईट प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।

प्रतियोगिताको कुल लागत करिब ८३ लाख रहेको छ । ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो । १०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो । स्थानिय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले यसबर्ष २५ लाख उपलब्ध गराउने भएको छ ।

प्रतियोगिता अवधीभरका लागी वीरगन्जस्थित लुम्बिनी जनरल ईन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवक, पत्रकारलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको विमा गर्ने भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content