निजगढ । निजगढ मेयर गोल्डकप फुटबलमा नेपाल खेलकुद क्लव रौतहटले विजयी शुरुवात गरेकोछ । निजगढ मेयर गोल्डकप फुटबलको चौथो संस्करणको शनिबार सम्पन्न उद्घाटन खेलमा नेपाल खेलकुद क्लवले बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल खेलकुद क्लवको जितमा म्याक्सवेलले निर्णायक गोल गरे । खेलको शुरु देखि नै बिरगंजले गोलको अवसरहरु सृजना गरेपनि सदुपयोग गर्न सकेको थिएन ।
खेलको अन्तिम अतिरिक्त २ मिनेट थप गरिएको समयमा रौतहटका म्याक्सवेलले गोल गर्दै टिमलाई सेमिफाईनल पुर्याउन सफल भए । खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका म्याक्सवेल घोषित भए । उनले ट्रफी सहित २ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आईतबार बकुलिया एघार बारा र निजगढ बीच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडीया खेल मैदानमा संचालन हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।