नेकपाले शनिबार बोलायो सचिवालय बैठक

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ — सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ । सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने दाहालको सचिवालयले जानकारी दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीले बिहीबार अमेरिकाका लागि राजदूतमा आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरेका थिए । त्यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै उनलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय लिएको थियो । निर्मल विश्वकर्मालाई भने दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरिएको छ ।

यसरी एकतर्फी रूपमा राजदूत सिफारिस गरेको र एउटै व्यक्तिले पटकपटक राजनीतिक नियुक्त पाइरहेको भन्दै नेकपाका सचिवालय सदस्यहरूले नै असन्तुष्टि सार्वजनिक गरेका छन् । शनिबार बोलाइएको सचिवालय बैठकको एजेन्डा भने तय भइनसकेको बताइएको छ । समसामयिक विषयमा नै छलफल हुने स्रोतले बतायो । पछिल्लो पटकको विवाद स्थायी कमिटीले हल गरेको थियो । जसमा सरकार ओलीले र पार्टी दाहालले एकअर्काको सल्लाहमा संचालन गर्ने भनिएको थियो । अनि प्रमुख राजनीतिक नियुक्त पार्टीको सल्लाह लिएर मात्रै गर्ने भनिएकोमा ओलीले उल्लंघन गरेको भन्दै नेकपाका शीर्ष नेताहरूले विरोध जनाइरहेका छन् । कान्तिपुर

शेयर
प्रतिक्रिया
Skip to content