जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने भएको छ । १९ महीनाअघि भारतबाट ल्याइएका दुई थान रेल । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

चैत १९ गते शनिवार भारतको नयाँ दिल्लीबाटै रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

‘दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्नु हुनेछ,’ झाले भने, ‘नेपालबाट उक्त रेलमार्गमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतको भौतिक उपस्थिति हुनेछ ।’

२०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए । कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो । कानूनी बाधा फुकाउन भन्दै तेस्रोपटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ । गत साता तेस्रोपटक अध्यादेश जारी भएको थियो । गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ । अध्यादेश मार्फत कानूनी बाधा फुकाइए पछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो ।

लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ । सिटमा बसेर र उठेर ती रेलमा करीब २ हजार ६०० यात्रुले एकैपटक यात्रा गर्न सक्छन् । सामान्य सिटका लागि प्रतियात्रु ९० र एसी भएकोमा ४५० रुपैयाँ भाडा तोकिएको छ ।

नेपाल–भारतका सीमावर्ती क्षेत्रका प्रमुख गन्तव्यलाई रेल लिंकले जोड्ने उद्देश्यले विभिन्न पाँच ओटा लिंक बनाउने घोषणा गरिएको छ, त्यसमध्ये पहिलो चरणमा जनकपुर–जयनगरमा रेल चल्न लागेको हो ।

सरकारले गतवर्ष १ अर्ब रुपैयाँ लगानीमा भारतीय रेलवे कम्पनी कोंकणबाट रेल किनेको थियो । रेल चलाउन भारतबाट २६ जना कर्मचारी आएका छन् । नेपाली कर्मचारी ५६ जना छन् ।

शेयर
प्रतिक्रिया
Skip to content