कलैया । नेकपा माओवादी केन्द्रका नेता एवम पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले स्थानीय तहमा गठबन्धन दलहरुनै बिजयी हुने देखेर एमाले अत्तालिएको बताउनु भएको छ । बाराको सिमरामा प्रेस सेन्टर नेपाल बाराले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले सो कुरा बताउनु भएको हो ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै उहाँले अभिब्यक्ती स्वतन्त्रता भनेको छाडा अराजकतन्त्र नभएको बताउनु भएको छ । पार्टी र सरकार अभिब्यक्ती स्वतन्त्रता प्रति उच्च सम्मान रहेको बताउदै विगतको सरकारको जस्तो बिदेश बाटै समाएर ल्याउने र दुःख दिने काम यो सरकारले नगर्ने बताउनु भयो । उहाँले सत्ता गठबन्धन दलहरूको चुनावी तालमेल हिजै देखिको ऐजेन्डाका आधारमा भएको बताउदै फेरी पनि स्थानीय निकायको निर्वाचनमा गठबन्धन हुने बताउदै गठबन्धन एमाले तथा कुनै शक्ति विरूद्ध लक्षित नरहेको बताउनु भयो ।
पुनले गठबन्धन हुने भन्ने बित्तिकै एमालेमा छटफटाहट शुरु भएको बताउनु भयो । यो एमाले विरूद्ध नभई संविधान र व्यवस्थामाथि प्रहार गर्ने प्रवृति विरुद्ध आफूहरू उभिएको बताए। लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गरिएकाले त्यसबाट एमाले आतंकित हुनु नपर्ने उनको भनाइ थियो।
सेन्टर बाराका अध्यक्ष रन्जन यादबको अध्यक्षता तथा प्रदिप गौतमको सञ्चालनमा सम्पन्न सम्मेलनमा स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
बाराको कलैयामा चुनाव लक्षित १६ वटै पालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि बारा आएका नेता पुनले प्रशिक्षण कार्यक्रममा अधिकाशा स्थानीय तहमा गठबन्धन दलहरुनै बिजयी हुने देखेर एमाले अत्तालिएको बताएका थिए ।
संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य आवश्यक भएकोले मिलेर जानुको विकल्प नभएको उनले कार्यकर्ताहरुलाई बताएका थिए । उनले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिको नेतृत्व गरेको भन्दै गठबन्धन आवद्ध दलहरू लोकतन्त्र पक्षधर भएको दाबी गरे।
राप्रपा र राप्रपा नेपालका नेताहरूसँग भेटेर चुनावी सहकार्यको प्रस्ताव राख्नु तथा मधेसमा महन्थ ठाकुरसँग घाँटी जोड्नुले ओली घोर दक्षिणपन्थी भएको प्रमाणित भएको उनले बताए ।
विगतमा मधेसी जनताको हक अधिकारको विरूद्ध खडा भएका ओली कहिल्यै पनि मधेसका पक्षमा उभिन नसक्ने उनले बताए । पुनले मधेसको अधिकार र सघियताको वकालत माओवादीले गरेको र उत्कृष्ट काम समेत माओवादीले जितेको ठाउमा प्रदर्शन गरेकाले स्थानीय निर्वाचन जित्ने हक माओवादीलाई मात्र भएको दाबी गरे।
नेकपा माओवादी केन्द्रका बाराका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिलको अध्यक्षता तथा शिवचन्द्र कुशुवाहाको स्वागतमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य गोपाल ठाकुर, प्रभु यादब लगायतले बोल्नु भएको थियो ।
सबिधान सभाका सदस्य जयराम दहालले सहजिकरण गरेको कार्यक्रममा माओवादी नेताहरु हरी चौलागाई, देवेन्द्र पराजुली , तपेश्वर चौधरी ,राजन पौडेल गीता कडेल, सोनालाल साह , रवि दङाल सल्लाहाकार उद्धब पोख्रेल , पुर्व सदस्य सचिब युवराज लामा , होटल तथा पर्यटन ब्यबसायी मोहन शर्मा , नागेन्द्र यादब लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।