सिमरा । बाटोको विषयमा विवाद हुँदा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुदा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष असलम देवान पक्षका बिरामीहरुलाई नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुनः एमालेमा फर्किएका थिए ।