निजगढ । बाराका सबै स्थानीय तहमा आज एकै दिन निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानीय निकायहरुले उपलब्ध गराएको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निजगढ नगरपालिकाको ७ नं. वडा कार्यालय भवनमा निजगढ नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन आयोगद्वारा नियुक्त निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले आज कार्यालय स्थापना भएसगै राजनैतिक दल स्थानीय सञ्चारकर्मीहरुसग आजै अन्र्तक्रिया समेत गरेका छन् । उक्त अवसरमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, सहायक निर्वाचन अधिकृत रविन घिमिरे , एमालेका उपाध्यक्ष भोला गौतम, काग्रेस उपसभापति ज्ञान बहादुर गोले, माओवादी केन्द्रका कुमार लामा, एकिकृत समाजवादीका नगर अध्यक्ष भिम सापकोटा, राप्रपा नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती , समाजवादी फोरमका अध्यक्ष मोजहर मंसुर, उन्नत लोकतन्त्र पार्टीका नगर अध्यक्षका उम्मेदबार गिता मैनाली लगायत राजनैतिक दलका प्रतिनिधि स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी स्थानीय तहको निर्वाचनको लागि जीतपुरसिमरा उपमहानगरपालिकामा पनि विहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उपमहानगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । बिहीबारनै निर्वाचन अधिकृत टिकामणी न्यौपानेले कार्यभार सम्हालेका छन् ।
न्यौपानेलाई जीतपुरसिमराका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्वागत गरेका थिए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत न्यौपानेले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । अधिकृत न्यौपानेले निर्वाचनको तयारीका लागि शुक्रवार राजनीतिक दलहरुबिच छलफल गर्ने भएका छन् । बाराको कलैया लगायत सबै पालिकामा आजदेखिनै निर्वाचनको कायर्उालय स्थापना भएका हुन ।