सिमरा । जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस भएपछि माओवादीभित्रको असन्तुष्टी बाहिर आएको छ । आकाक्षी मध्येका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ र सबिधान सभाका सदस्य जयराम दहालले बिरोध जनाएका छन् । एकजनाको मात्र नाम सिफारिस भएकोमा माओवादी केन्द्रको नगर कमिटी बैठकले बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको हो ।
माओवादी केन्द्रका जीतपुर सिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिएका छन् । माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले भने राजन पौडेलसहित अन्य दाबेदारहरुको पनि नाम सिफारिस गरिएको बताएका छन् । ‘पौडेलजीको एक्लो नाम सिफारिस गएको भन्ने गलत हो, हामीले सबै आकांक्षीको नाम पठाएका छौं,’ जिल्ला अध्यक्ष श्रेष्ठले बताए। प्रमुख पदकै लागी आकांक्षा संविधान सभा सदस्य जयाराम दाहालले नाम सिफारिस गर्नु अघि आफूहरुसंग छलफल नभएको बताए । ‘हामीसंग छलफल भएको छैन्, सिफारिस गरिएको विषयमा जानकारी पनि दिइएको छैन्’ दहालले बताएका छन् ।
उपमहानगरको प्रमुखका लागि माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य जयराम दहाल, केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ अनिल, मधेस प्रदेश सदस्य गीता कंडेल, वडाध्यक्ष रामशरण बर्तौला सहित १० जनाले दाबी गर्दै आएका थिए ।
अन्त्यमा अधिकांश नगरकमिटी सदस्यहरुले पौडेलको नाम सिफारिस हुनुपर्छ भनेर दबाब दिएपछि उनको एक्लो नाम सिफारिस गरेर पठाइएको अध्यक्ष बरालले जनाए ।
पौडेलले २०७४ को निर्वाचनमा नगरप्रमुखमा ११ हजार २५१ मत ल्याएका थिए । २०७४ मा नगरप्रमुखमा पराजित भए पनि पौडेलले यो अवधिमा राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै उनलाई प्रमुखमा सिफारिस गर्न छलफलमा सहभागी ५८ जना नगर कमिटी सदस्यमध्ये ५७ जनाले सिफारिस गरेको श्रोतले जनाएको छ ।
नगर कमिटीका अध्यक्ष बरालले आकांक्षीहरुबीच सहमती गराउने प्रयास सफल हुन नसकेपछि नगर कमिटीको बहुमत सदस्यले दिएको म्याण्डेड अनुसार पौडेलको नाम सिफारिस गरिएको बताए ।
‘सर्वसम्मत् नाम पठाउनका लागि आकांक्षीबीच छलफल गरेका थियौ । तर सहमती जुटन नसकेपछि नगर कमिटीका सदस्यहरुको माग बमोजिम पौडेलको नाम सिफारिस गरेको हु’ बरालले बताए । आकांक्षीमध्ये केहीले भने नगर कमिटीका अधिकांश सदस्यको माग बमोजिम पौडेलको नाम सिफारिस भएको प्रतिक्रिया दिए । ‘नगर कमिटीका अधिकांश सदस्यहरुले उहाँकै नाम मात्रै सिफारिस गर्न माग गरेका थिए’ प्रमुख पदमा दावी प्रस्तुत गरेका रामशरण बर्तौलाले भने ‘उहाँको मात्रै नाम सिफारिस भएकोमा मलाई आपत्ती छैन् ।’
उपप्रमुखमा तीन जनाको नाम सिफारिस
नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । उपप्रमुख पदका लागि आकांक्षा देखाएका चारमध्ये रोमा चौधरी, शिवशंकर चौधरी र क्यामुदिन मन्सुरीको नाम सिफारिस गरेको हो ।
यसअघि भागबण्डाबाट उपप्रमुख पद पाएको कांग्रेसले प्रमुखमा ११ र उपप्रमुखमा १३ जनाको नाम सिफारिस गरिसकेको छ । कांग्रेसले गठबन्धनको निर्णय अस्विकार गर्ने निर्णय गरिसकेको छ ।