निजगढ । बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहित सुरक्षा निकायका प्रमुखहरू समेतको सहभागितामा स्थानीय निर्वाचन सहित ६ बिषयमा एक अर्कामा समन्वय गर्ने निर्णय गरेको छ ।
आईपर्ने समस्याहरुको समाधानमा सहयोग हुने गरी अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो । स्थानीय निर्वाचन २०७९को सुरक्षा, अपराध नियन्त्रण लागु औषध, हातहतियार र चोरी पैठारी नियन्त्रण , सवारी दुर्घटना न्युनिकरण , विपदको पुर्व सुचना र व्यबस्थापन , प्राकृतिक स्रोत साधनको अबैध उत्खनन ओसार प्रसारमा सबै जिल्लाहरुले समन्वय गरी रोकथाम गर्ने निर्णय गरेको छ ।
बैठकले प्रभावकारी सुरक्षाको बन्दोबस्त गरी छ बिषयमा समन्वय गर्दै अघि बढने सहमति भएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज सेढाईले बताए ।
जिल्ला प्रशासन कार्यालय, बाराको आयोजना तथा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको सहयोग एवं सहजीकरणमा निजगढ नगरपालिकाको सभाहलमा सम्पन्न बैठकको अध्यक्षता बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले गरेका थिए । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद अधिकारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे , रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको उपस्थिति रहेको थियो ।
बैठकमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल, उपमेयर लिलादेबी लामिछाने खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की समेतको सहभागिता रहेको थियो ।