कुन कम्पनीको कस्तो अफर ?
कोरोना महामारी कायमै छ, र पनि पहिलेजस्तो बजार बन्द गरेर बस्न सक्ने अवस्था अहिले छैन । त्यसैकारण २ पांग्रे तथा ४ पांग्रे सवारीसाधनहरूले विगतमा जस्तै दशैं तिहारका लागि ‘आकर्षक अफरहरू’ ल्याएका छन् ।
दशैं तिहारको समयमा केही न केही कारोवार हुने भन्दै उनीहरूले उपभोक्तालाई सहज हुनेगरी अफर ल्याइएको दाबी गरेका छन् ।
सुजुकी
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ११ असोजदेखि शुरू हुनेगरी दशैंतिहारलक्षित अफर ल्याएको छ ।
‘सुजुकी पर्वोत्सव’ अफरअन्तर्गत ग्राहकलाई सिजीले ३ लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसरिजहरू निःशुल्क दिनेछ ।
ह्युण्डाइ
ह्युण्डाइ अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दशैंतिहार वेलकम टु ह्युण्डाइ परिवार’ योजना ल्याएको छ ।
असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेगरी कम्पनीले योजना दशैं, तिहार र छठको अवसरमा ल्याएको हो । यस योजनाअन्तर्गत, ग्राहकहरूले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप रु. १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसका साथै ग्राहकहरूले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् ।
किया
कोरियन अटो निर्माता कियाको नेपालका लागि अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले दशैंतिहारको अवसरमा ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् । योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन् ।
टाटा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले दशैंतिहारलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक गरिसकेको छ ।
टाटा मोटर्सको नयाँ प्यासेन्जर भेहिकल खरिदमा उसले ४ लाखसम्मको नगद छुट योजना ल्याएको छ । यस्तै ५० हजारभन्दा बढीको एक्सचेञ्ज बोनको व्यवस्था गर्नुका साथै १ वर्षको ‘रोड ट्याक्स’ निःशुल्क गरिदिएको छ । यसका साथै सिप्रदीले सदाझैँ गाडीको खरिदमा आकर्षक उपहारको पनि व्यवस्था गरेको छ ।
‘यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर,’ यो स्लोगानमा सिप्रदीले कमर्सियल भेहिकलहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ ।
असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लागू हुनेगरी उसले सर्भिसमा प्रयोग हुने इन्जिन ओइल, गियर ओइल, ब्रेक चेञ्ज लगायतमा १२ प्रतिशत, लुब्रिकेन्ट्समा २० प्रतिशत, ब्याट्री एक्सचेञ्जमा २० प्रतिशत लगायतका छुटको घोषणा गरेको छ ।
निशान
निशानले ‘धमाकेदार दशैं, तिहार तथा छठ’ अफर सार्वजनिक गरेको छ । जसमा शून्य प्रतिशत डाउनपेमेन्ट सुविधा रहेको छ । साथै ९ महिनासम्म ईएमआई तिर्नुपर्नेछैन ।
उक्त अफर नलिएमा अर्को अफर पनि कम्पनीले दिनेछ । यो अफरमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट, ग्राहकलाई ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइलफोन दिइनेछ ।
यस्तै हरेक निशान गाडीको खरिदमा ५० हजारसम्मको फ्री एसेसरिज, एक वर्षसम्मको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनान्सिङ लगायतको सुविधा छ ।
बजाज
बजाजले दशैंतिहारका लागि ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ । ‘खुशी खोज्ने होइन रोज्ने’ भन्दै कम्पनीले आवश्यकता अनुसार १० हजार रुपैयाँसम्मको छुट, ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर तथा २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल खरिद गर्ने सुविधा दिएको छ ।
टीभीएस
नेपालका लागि टीभीएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘टीभीएस दशैँको आशा’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरमा ७ हजार वा शून्य प्रतिशत व्याजदरमा खरिद गर्ने सुविधा छान्न सकिने छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।