निजगढ । निजगढ नगरपालिकामा नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत सरुवा प्रकरणमा हस्तक्षेप गरी नियमित प्रशासनिक कार्यमा अबरोध गरेको भन्दै तत्काल सच्याउन नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुले माग गरेका छन् ।
१५ जना कार्यपालिका सदस्यहरुले आज मंगलबार ध्यानाकर्षण गराईएको ज्ञापनपत्र दिदै निजगढ नगरपालिकाका १३ का वडाअध्यक्ष सुर्य घलानले नगरसभा सम्पन्न गरी बजेट पारित गर्दै कार्यपालिकाको नियमित काम सञ्चालन गर्नु पर्नेमा नगरसभा सम्पन्न नगरी तथा बार्षिक कार्ययोजना समेत नबनाई प्रशासकीय अधिकृत सरुवा प्रकरणमा हस्तक्षेप गरी जनताको नियमित काम कार्वाही अबरुद्ध गरेको आरोप लगाएका छन ।
कार्यपालिका सदस्यहरुले सरुवा भएका उपसचिव प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई पुनः यथावत कायम गर्न मन्त्रालयले पठाएको भएपनि नगरप्रमुखको कार्यकक्षमा ताल्चा लगाई प्रशासनिक कार्यमा अबरोध गरेको भन्दै तत्काल अन्त्य गर्न माग समेत गरेका छन ।
बहुमत कार्यपालिका सदस्यहरुले कर्मचारीहरुको दैनिक डिजिटल हाजिरी बन्द गराई नियम विपरित नगरप्रमुखको कार्यकक्षमा कागजी हाजिरी गराएको प्रति ज्ञापनपत्रमा घोर भत्र्सना समेत गरेका छन् । नगरप्रमुखको आदेशमा सुरक्षाका लागि जडान गरिएको सि.सि.टि.भि. क्यामेरा समेत बन्द गराईएको प्रति ध्यानाकर्षण गराउदै नगर हित विपरित कार्य नरोके कार्यपालिका सदस्यहरु समेत नगरप्रमुख प्रति आवश्यक कार्वाहीको लागि प्रकृयागतरुपमा अघि बढने उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । नेपाली काग्रेस निकट ७ जना वडा अध्यक्ष सहित १५ कार्यपालिका सदस्यले सो ज्ञापन पत्र दिएका हुन ।
ज्ञापनपत्र बुझे पछि नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई आफुले हाजिर गराउन नसक्ने जानकारी सम्बन्धित मन्त्रालयमा पठाई सकेको बताउनु भयो । तीन दिन अघि सोही मन्त्रालयले पठाएका अर्का प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई सकेका कारण पुन कार्कीलाई हाजिर गर्न नसक्ने सञ्चारकर्मी माझ पुरीले बताए । मन्त्रालयले अस्थिर काम गरेकोले अबज्ञा गरेको बताए । चलानी नं. समेत शंकास्पद रहेकोले मन्त्रालयले अपरिपक्क निर्णय गरेको बताउनु भयो । स्थानीय सरकार प्रमुखले पटक पटक सरुवा भएका कार्कीलाई निजगढ आउनु पर्ने कारण समेत नरहेको र सगै बसेर काम गर्ने वाताबरण नभएकोले आफुले रोकेको बताए । सहज ढङले निकास दिन कार्कीलाई अन्यत्र जान उनले अनुरोध समेत गरे ।
निति तथा कार्यक्रम जुन सौहाद्र्र तवरले भएको थियो , अहिलेपनि कायम रहेको बताउदै बजेट निर्माणमा ढिला भएको कार्यपालिका सदस्यहरुको जवाफमा बर्षाको र प्रमुख प्रशासकीय अधिकृतकै कारण ढिला भएको बताउनु भयो । बिगतको बजेटको समिक्षा गरेर मात्र बजेट विनियोजन गर्ने सहमति अनुसार पनि बजेट आउन ढिला भएको उनले बताए । आर्थिक बर्ष टुङगिएको लगत्तै प्रमुख प्रशासकीय अधिकृत कार्की मौखिक जानकारी गराई काठमाण्डौ गएको र आफुले निजगढमा चोरी भएपछि सुरक्षा बैठक राख्न, नाला सफा गर्न आएको जेसिबि ल्याउन पटक पटक आफुले भनेपनि नटेरेको बताउनु भयो । बजेट निर्माणको बिषयमा छलफल हुदा अन्य कर्मचारीहरुसग बुझने क्रममा विभिन्न आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत कार्कीले मेयरको बिरुद्ध कर्मचारी उचाल्ने काम गरेको समेत बताउनु भयो ।
निजगढ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष स्वर्ण लामा, वडा नं. ९ का अध्यक्ष रामचन्द्र कटुवाल, वडा नं. ४ का वडाअध्यक्ष बिसन सापकोटा, १३ का सुर्य घलान र १ का मंगल लोप्चनले मन्त्रालयले पठाएको जो सुकै कर्मचारीलाई नगरपालिकाले काम गर्न दिनु पर्ने बताए । उनीहरुले यत्तो विवाद आउदा समेत कार्यपालिका बैठक राखेर जानकारी समेत नगरेको बताएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उनको सरुवा गरेको भएपनि उक्त निर्णय उल्टाएर कार्की निजगढ फर्किएका हुन । यस अघि कार्कीलाई सरुवा गर्दै मन्त्रालयले उनको स्थानमा मकवानपुरस्थित थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पठाएको थियो । मन्त्रालयले सरुवा गरेपछि पुरी साउन १३ गते निजगढमा कार्कीले रमाना नलिदै हाजिर भएर बाटो म्यादमा बसेका थिए । त्यसको एक दिन वित्न नपाउदै मन्त्रालयले मन्त्रालयले पुनः कार्कीलाई निजगढ फर्काएको हो ।
पचरौतामा सरुवा गर्ने निर्णयप्रति असन्तुष्टी जनाउदै आएका कार्कीले मन्त्रालय पुगेर सचिवस्तरीय निर्णय उल्टाएका हुन् । कार्कीलाई अन्यत्र सरुवा गरेर पचरौता पठाउने निर्णय स्थगन गरिएपछि निजगढ आएका पुरीलाई भने मन्त्रालय तानिएको छ ।