सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले उपमहानगरपालिकालाई जीतपुरबाटै सञ्चालन गर्न नसकिने अबस्थामा पुगेको बताएका छन् । बिशेष गरी वडा नं. ७ का वडाअध्यक्ष सुनील गुप्ताका कारण यस्तो अबस्था आएको उनले बताएका छन ।
कामै नभएका ईस्यु खडा गर्ने, सामान्य खालको कामका लागि पनि धम्काउने, दबाब दिने , ह्यारेसमेन्ट गर्ने जस्ता काम म लगायत कर्मचारीहरुलाई हुदै आएकोले नगरबासी र खासगरी जीतपुरवासीलाई जानकारी गराउदछु की अब जीतपुरबाट कार्यालय सञ्चालन गर्न सकिने अबस्था छैन नगरप्रमुख पौडेलले बताए । काम गर्ने वातावरण जीतपुरवासीले नबनाए जीतपुरबाट नगरपालिका सञ्चालन हुन सक्दैन उनले बताए ।
उनले आफुलाई निर्वाचन सकिए लगत्तै समेत जीतपुरमा आएर कसरी काम गर्छस भनेर धम्की समेत उनले दिएको बताए ।
उपमहानगर जस्तो एक प्रकारको सरकारको सेवा प्रवाहमा अबरोध गर्ने काम बाहिर भन्दा भित्र जिम्मेवार कार्यपालिका सदस्यबाटै हुदै आएको बताए । वडा भनेको नगरको अंग भएको र नियम कानुनको पालना गर्नुपर्ने भएपनि पालना नगरी जथाभावी हुने तालाबन्दी लगायतका यस्ता कामले आजित भएको बताउनु भयो । बिशेष गरी ७ नं. को वडाअध्यक्षबाट नियम बिपरित जसरीपनि काम हुनु पर्नेले अराजकता निम्ताएको नियम कानुनको खिल्ली उडाएको उनले बताए ।
बुधबार दिउसो २ बजेसम्म कार्यालय निर्वाध चलिरहेको भएपनि कार्यपालिका सदस्य जस्तो वडाअध्यक्ष गुप्ता नगरपालिका परिसरमा प्रवेश गरेर मुल गेटमा भोटे ताल्चा लाईदिएपछि नगरप्रमुख पौडेलले आफु आजित भएको बताएका हुन । नगरपालिकामा ताल्चा लगाएपछि जीतपुरसिमरा उपमहानगरपालिकामा सेवा लिन गएका झण्डै एक सय सेवाग्राही र कर्मचारी कार्यालयमै थुनिएका थिए । झण्डै तीन घण्टा नगर पालिका कार्यालयमा ताला लाग्यो र सेवाग्राही कार्यालयमै थुनिए पनि एमालेबाटै निर्वाचित गुप्तालाई पार्टीका नगर अध्यक्ष समेत रहेका उपप्रमुख भोला अधिकारीले सम्झाएपछि ताला खुलेको हो ।
यो बिषयले सामाजिक सञ्जाल र जनप्रतिनिधिमा कार्यालय सार्नु पर्ने दबाब बढेको छ ।