निजगढ । बिगत दुई हप्तादेखि निजगढ नगरपालिकामा भएको तालाबन्दीका कारण नगरवासीको कामकाज ठप्प भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टा भित्र ताला खोलि काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी समेत दिएको छ ।
विगत १४ दिन देखि भएको तालाबन्दीबाट सेवाग्राही समस्यामा परेको भन्दै तत्काल तालाबन्दी खोलेर सेवा प्रवाह सुचारु गर्न राप्रपाले माग गर्दै निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन । नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्य घमण्डका कारण नगरपालिकाबाट सर्व साधरणले पाउनुपर्ने सेवाबाट बन्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बिनोद भारतीले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रसाद उप्रतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन । ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुबै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको उप्रेतीले बताए ।