काठमाडौँ । सरकारले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ समूह गठन गरेको छ । हवाई पूर्वाधार इन्जिनियर वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूह गठन भएको हो ।
साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको विज्ञ समूहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजनाविद् सूर्यराज आचार्य, शहरी विकासविद् संगीता सिंह, वनयजन्तुविद् प्रेमबहादुर बुढा रहेका छन् । त्यसैगरी समुहमा वनविज्ञान विशेषज्ञ सुरेशकुमार घिमिरे, मानवशास्त्री लक्ष्मी सिंह, पाइलट कृष्ण विक्रम पौडेल, कानुनविद् चन्द्रकान्त ज्ञवाली र हवाईरुट विशेषज्ञमा महेश कुमार बस्नेत रहेको विज्ञ समूह गठन गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनु भएको छ ।
विमानस्थल निर्माणका क्रममा काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन ईआईए सतही भएको भन्दै २०७६ भदौमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि हालै जारी भएको परमादेशले विज्ञ समूह गठन गर्न भने अनुसार समुह गठन भएको हो ।
त्यसैमा टेक्दै प्राधिकरणको सञ्चालक समितिले सिफारिस गरेको आधारमा विज्ञ समूह गठन गरेको हो ।
सर्वोच्चले निजगढमा विमानस्थल बनाउनुअघि विज्ञहरूको समूहबाट उपलब्ध विकल्पहरूसहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याउन’ परमादेश जारी गरेको थियो ।