निजगढ । निजगढ नगर कार्यपालिका कार्यालयमा लगाईएको तिन वटै ताला मंगलबारदेखि खुलेकोछ । नगर प्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएर प्रशासनिक कार्य अबरोध गरेको भन्दै नेपाली काग्रेसका बहुमत कार्यपालिका सदस्यले प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाएको ताला आज खुलेको हो । निजगढ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष सहित १६ कार्यपालिका सहस्यहरुले ताला खोलेका हुन । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला हिजो खोलेपछि आफुहरुले पनि ताला खोलेको १३ नं. वडाका वडाअध्यक्ष सुर्य घलानले बताए ।
यसका साथै डिजिटल हाजिरी मेशिन पुनः संचालन गरिएको, सिसि टिभी क्यामेरा संचालन गरिएकोले आफुहरुले पनि गत श्रावण २३ गते नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी तत्कालको लागि खोलेको वडा अध्यक्ष घलानले बताउनुभयो ।
नगर प्रमुख पुरीले प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीलाई कार्यालयमा हाजिर गर्न नदिने अडान लिंदै कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा विवाद शुरु भएको थियो ।
नगर प्रमुख पुरीले कार्यपालिकाको नियमित बैठक नराखेको, नगरसभा सम्पन्न नगरेको, वार्षिक बजेट र कार्ययोजना पारित नगरेको, भुमि सम्बन्धि समस्या समाधानका लागि प्रक्रिया अगाडी नबढाएको आरोप कार्यपालिका सदस्यहरुले लगाउदै आएका छन् । भन्दै तत्काल कार्यपालिका बैठक राख्न माग गर्दै २३ सदस्यीय कार्यपालिका सदस्यमध्ये १६ जना सदस्यहरुले नगर प्रमुख पुरीलाई ध्यानाकर्षण समेत गराएको भएपनि अहिलेसम्म बैठक नबोलाएको घलानले बताए ।
कर्मचारीहरुको डिजिटल हाजिरी मेशिन बन्द, कार्यालयको सिसि टिभी क्यामेरा बन्द गराई आफ्नो पार्टी नेकपा एमालेका कार्यकर्ताहरुलाई नगर कार्यपालिका कार्यालयमा जम्मा गराई मुठभेडको अवस्था सृजना गराउन खोजेको आरोप समेत लगाएका छन् । कार्यपालिकाका वहुमत सदस्यहरुले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाएको ताला खोले पनि नगर प्रमुख पुरीले आफुहरुको सुझावलाई बेवास्ता गरे पुनः अन्य कार्यक्रम मार्फत बिरोध गर्न बाध्य हुने पत्रकार सम्मेलनमा बितरित विज्ञप्तीमा जनाईएको छ ।
आफु अनुकुलको कर्मचारी ल्याउने नगर प्रमुखको घमण्डले कार्यालयमा आउने सेवा ग्राहीलाई सास्ती भएको वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाले बताए । यता नगरप्रमुख पुरीले भने आफुले भनेको काममा असहयोग गरेको र नियमित सरुवा भई अन्यत्र गई सकेको अबस्थामा कार्कीलाई हाजिर नगराएको बताएका छन ।
अब नयाँ प्रमुख प्रशासकीय अधिकृतमा को आउने भन्ने अझै अन्यौल रहेको बताईएको छ । तालाबन्दी खोलेपनि कर्मचारी विवादका कारण निजगढको सबै काम सुचारु हुन अझै कति दिन लाग्छ भन्न सकिने अबस्था नभएको बताईएको छ ।