बारा । अवैध भरुवा बन्दुक र करिब सात लाख रकम सहित बारामा दुई जना पक्राउ परेका छन् । बारामा शुक्रबार दुई छुट्टा छुट्टै प्रहरीले गरेको कार्वाहीमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ रामनगर गुम्बा टोल बस्ने संजिव बल र बारा विश्रामपुर गाउँपालिका वडा नं. २ छतवा टोल निवासी २९ बर्षिय रामविनय साह रहेका छन ।
घरमा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी जैतापुरको सम्युक्त प्रहरी टोलीले संजिव बलको घर खानतलासी गरेको हो । खानतलासी गर्ने क्रममा लोड भरूवा बन्दुक एक थान, सोमा प्रयोग हुने बेरिङ पाँच थान सहित बल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताउनु भयो । पक्राउ परेका बललाई थप अनुसन्धान कार्य भइरहेको निरिक्षक थापाले बताउनु भयो ।
यसैगरी अर्को घटनामा चाँदी तथा सुन जस्तो देखिने ६ लाख ८० हजारको धातुका गहना सहित अर्को एक जना शुक्रबार पक्राउ परेका हुन । पक्राउ परेका बारा विश्रामपुर गाउँपालिका वडा नं. २ छतवा टोल निवासी २९ बर्षिय रामविनय साहलाई प्रहरीले सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको सम्युक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. १ छतवा टोल स्थित सडकमा ना ६१ प ९३४० नं.को मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राउदै गरेको अबस्थामा उनलाई पक्राउ गरेको हो । करिब तीन लाख २० हजार मुल्य बराबरको पाँच किलो ९९८ ग्राम चाँदी जस्तो देखिने धातु र तीन लाख ६० हजार मुल्य बराबरको ५७ दशमलब ६१ ग्राम सुन जस्तो देखिने पहेलो धातुको तयारी गहना सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताउनु भयो ।
पक्राउ परेका साहलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार कानुनी कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पठाईने प्रहरी निरिक्षक थापाले बताउनु भयो ।