बारा । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्ज बाराका प्रमुख ईन्जिनियर प्रदीप कुमार यादबले अक्टोबरदेखि यही पाईपलाईनबाट पेट्रोल र ग्यास समेत ल्याउने कार्यको शुरु गर्ने तयारी भईरहेको बताउनु भएको छ ।
मोतिहारी अमलेखन्ज पेट्रोलियम पाईपलाईन सञ्चालनको तीन बर्ष पुगेको अबसरमा आयोजित कार्यक्रममा बोल्दै यादबले सो कुरा बताउनु भएको हो । अहिले ग्यास ढुवानी वापत ठुलो रकम खर्च हुने गरेकोले अब पेट्रोल र ग्यासको आयातका लागि निगम लागि परेको उनले बताउनु भयो ।
तीन बर्षको अन्तरालमा डिजेल ढुवानीमा हुने पाँच अर्ब रुपैया खर्च हुनबाट जोगिएको समेत उहाँले बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख यादबले कम लागत र सुन्य चुहावटमा पाईपलाईनबाट तीन बर्षको अन्तरालमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजेल आयात गरेको समेत बताउनु भयो । २६ जिल्लाको आपुर्ति गर्दै आएको प्रादेशिक कार्यालय अमलेखगंजले दैनिक ६ हजार पाच सय किलोलिटर ईन्धन आपुर्ति गर्दै आएको छ ।
सो अबसरमा आयल निगम हाता भित्र बृक्षारोपण समेत सम्पन्न भएको छ ।
प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख ईन्जिनियर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राङ्गणमा अशोक, लिची लगायतका बिरुवा वृक्षारोपण गरिएको हो । कार्यक्रम बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटबाल र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रमुख यादब लगायतले बृक्षारोपण गर्नु भएको हो ।
मोतिहारी अमलेखन्ज पेट्रोलियम पाईपलाईन सञ्चालनको तीन बर्ष पुगेको अबसरमा समिक्षा कार्यक्रम तथा बृक्षारोपण भएको हो ।
कार्यक्रममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरुले पाईपलाईनको सुरक्षा, स्थानीयमा जनचेतनाको प्रचारप्रसार र सुरक्षा निकायको सहयोग लगायतको बारेमा छलफल समेत गरेका थिए ।