कलैया । प्रतिनिधि तथा प्रदेश सभाको आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि बाराको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बाराको निर्वाचन क्षेत्र नं। १ का लागि कोल्हबी नगरपालिका बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १ का लागि निर्वाचन अधिकृतमा कैलाश खत्री रहेका छन ।
त्यसैगरी क्षेत्र नं। २ को लागि महागढीमाई नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनु भयो । क्षेत्र नं। २ मा निर्वाचन अधिकृतमा सुदर्शन ढकाल रहेका छन ।
चौधरीका अनुसार बाराको क्षेत्र नं। ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको छ । जिल्ला अदालत बाराका एक नम्बर न्यायधिस पुर्णेश्वर उपाध्याय बाराको मुख्य निर्वाचन अधिकृत रहेका छन ।
बाराको क्षेत्र नं। ४ का लागि जीतपुरसिमरा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतमा कर्ण बहादुर राय छन ।
बारामा १८ बर्ष पुरा हुने एक लाख ९६ हजार छ सय १२ महिला, दुई लाख ३६ हजार आठ सय ८० पुरुष तथा १२ जना अन्य गरी कुल चार लाख ३३ हजार पाँच सय चार मतदाताहरु रहेका छन । बारामा तीन सय पाँच मतदान स्थल र पाँच सय ५५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख चौधरीले बताउनु भयो ।
निर्वाचन आयोगको कार्यातालिका अनुसार उम्मेदवारहरुले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ बजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखि ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था आयोगले गरेको छ ।
२५ असोजमा उजुरीका विरुद्ध छानबिन तथा निर्णय गरी नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समय सीमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछि सोही दिन १ बजेदेखि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारहरू ४ मंसिरको तयारीमा जुटने छन ।