बारा । सिम्रौनगढ नगरपालिकामा कामबाट हटाइएका करारका कर्मचारीले ताला खोलेको तीन घण्टा नबित्दै पुनः नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका छन् ।
नगरपालिकाले बिना कारण करार र ज्यालादारीमा कार्यरत २६४ जना कर्मचारीहरुलाई कार्तिक १ गतेदेखि हटाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन ।
आईतबार तालाबन्दी गरेकोमा हिजो सोमबार सुरक्षाकर्मीको रोहबरमा ताला तोडेपनि हटाईएका कर्मचारीहरुले तीन नबज्दै पुनः तालाबन्दी गरेका हुन ।
असोज ३१ गते करारका कर्मचारीहरुको म्याद समाप्त हुने तथा कातिकदेखि कामकाज गर्न नपाउने सूचना आईतबार साँझ ५ बजे देखेपछि बाध्य भएर हामीले तालाबन्दी गर्नु परेको करार कर्मचारी संघका अध्यक्ष नितेश प्रसाद यादवले बताएका छन ।
नगरपरिषदले कर्मचारीहरुलाई हटाउने निर्णय नगरेपनि नगरप्रमुखले अघिल्लो नगरप्रमुखबाट नियुक्त भएका कर्मचारी हटाएर चलखेल गर्न लागेकाले आन्दोलनमा उत्रन बाध्य भएको यादबले बताए । सशर्त अनुदान शिर्षकबाट सेवा सुविधा प्राप्त गर्ने गरी प्रक्रिया पूरा गरी नियुक्ती भएका कर्मचारी बाहेकका कर्मचारीहरुलाई नगरपालिकाको आन्तरिक श्रोत तथा छैठौ नगरसभा द्वारा सेवा करारमा विनियोजित बजेटबाट तलब भत्ता सेवा सुविधा व्यवस्थापन गर्न नसकिने नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
प्रक्रिया पुरा नगरि विभिन्न मितिमा विभिन्न पदमा सोझै नियुक्ती गरिएका तथा विभिन्न सामाजिक संस्थाबाट नियुक्ती लिई नगरपालिकामा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि २०७९ कातिक १ गतेबाट म्याद थप नहुने प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुख, उपप्रमुख द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारले कर्मचारीका लागि छुट्टाईएको तीन करोड रकम मध्ये दुई करोड रकम तीन महिनामा सकिन लागेकाले करारका कर्मचारीलाई तलब खुवाउन नसकिने अबस्था आएपछि बाध्य भएर हटाईएको बताउनु भयो ।
उनले नगरको विकास गर्नुपर्ने रकम कर्मचारीलाई तलब खुवाउन नपुग्ने भएपछि हचुवाको भरमा नियुक्त भएका कर्मचारी प्रकृया नपुगेका कर्मचारी हटाएको बताए । करारका कर्मचारीमा धेरै तलब करिब नौ करोड रकम खर्चभएकोमा महालेखाले समेत टिप्पणी गरेको नगरप्रमुख कलबारले बताए । उनले यस्तोमा कार्यपालिका सदस्य र वडाअध्यक्षहरु समेत उपस्थित भएर पुनः तालाबन्दी हुनु दुःखद भएको बताए ।