बारा । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज दोस्रो दिन घर–घरमा खरना गरी मनाईएको छ ।
सूर्यदेवको आराधना, उपासना र पूजा गर्दै पर्वको आज शनिबार दोस्रो पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडी अघि खीर र रोटी मात्र खाएर ‘खरना’ विधि गर्ने प्रचलन रहेको सिमराकी पुनम साहले बताईन ।
छठको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन नुहाइ धुवाइ गरेर सात्विक भोजन गरेर सकिएको छ ।
श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि बारा लगायत तराई मधेशका विभिन्न स्थानमा नदी घाट सजाउने सरसफाई गर्ने बत्ती बाल्ने लगायत सम्पूर्ण तयारी पूरा भएको छ । विगत एक हप्ता अघिदेखिनै घरघरमा छठी माताको गीत घर घरमा बज्दै आएको छ ।
षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ ।
पर्वमा खास गरी सूर्यदेवको उपासना गरिने यस पर्वमा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको जीतपुरसिमरा १ सिमराका दिलिप साहले बताए ।
गरिब, धनी, दलित एवं उचनीचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँने गरेको साहले बताए । छठ पर्वले समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध समेत हुदै आएको उनले बताए ।
त्यसैगरी भोली आईतबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउने गरेका छन । व्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर चारदिने पर्व सम्पन्न हुनेछ ।
व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार र केरा सहितका फल प्रसाद स्वरुप खाने खुवाउने चलन रहेको छ ।
हरेक जातजातीले मनाउने गरेका कारण यो पर्वको महत्व बढदै गएको छ ।
मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।
तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विक्रम संवत २०४६ पछि काठमाडौं लगायत पहाडमा समेत मनाउन थालिएको छ । काठमाडौंको थापाथली, गौरीघाट, रानीपोखरी लगायत ठाउँमा पनि विशेष महत्वका साथ छठ मनाइन्छ ।
https://youtu.be/zAwRF9BWDUo