वडाअध्यक्षको रिहाईपछि खुल्यो बिरगन्ज पथलैया सडक

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको जितपुरसिमरा उपमहानगरका वडा नं. ७ का वडाअध्यक्षको रिहाईपछि जीतपुरमा आज आईतबार करिब चारघण्टा चक्काजाम पछि राजमार्ग सञ्चालनमा आएको छ ।

आन्दोलनरत पक्षले सडक खुलाउने र प्रहरीले पक्राउ परेका वडाअध्यक्ष सुनिल गुप्ता र वडासदस्य सिता उप्रेतीलाई अब आईन्दा तालाबन्दी नगर्ने गरी कागज गरेर रिहा गर्ने सहमति पछि राजमार्ग खुलेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भयो । पथलैया–बिरगन्ज सडक खण्डमा दिउसो १ बजे देखि पाँच बजेसम्म चक्काजाम भएको थियो ।


बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालय समेत रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा वडाअध्यक्ष गुप्ता र उप्रेती लगायतको समुहले फोहर ब्यबस्थापन नभएको भन्दै तालाबन्दी गरेपछि प्रहरीले कार्यालयको ताला खोलेसँगै वडाध्यक्ष गुप्ता र सदस्य उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

 नगरप्रमुख राजन पौडेलले आफु दिनभर कार्यालयमा रहेको र फोहर उठाउने बारे तथा ताला खोल्नु अघि कसैसग पनि कुनै सहमति नभएको बताउनु भएको छ ।

प्रहरीको सहयोगमा जीतपु्सिमरा उपमहानगरपालिकामा लगाईएको ताला प्रहरीले आधाघण्टा नबित्दै खोलेको बताएपनि वडाअध्यक्ष गुप्ता समुहले भने उपप्रमुख, निर्वाचन अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसग बसी फोहर उठाउने र निर्वाचन कार्यालय समेत भएकाले तत्काल ताला खोल्ने सहमति भएको बताएका छन ।

नगर प्रमुख पौडेलको कक्षको ताला भने वडाअध्यक्ष गुप्ता पक्राउ पर्दासम्म नखुलेको बताएका छन । नगर उपप्रमुख भोला अधिकारीसग के भयो आफुलाई जानकारी नभएको पौडेलले बताए ।


नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष गुप्ताले तालाबन्दीको कारण फोहरमैला नउठेर दुर्गन्ध फैलिएका कारण आन्दोलनमा उत्रनु परेको बताएका छन । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।

नगर प्रमुख राजन पौडेलले निर्वाचनलाई प्रभावित गर्न तालाबन्दी र चक्काजाम गर्नु दुखद भएको बताए । उनले वडा अध्यक्ष गुप्ताले यस अघिपनि पटक पटक तालाबन्दी गर्दै आएको र प्रहरीले कानुन अनुसार गरेको काममा आफुले हस्तक्षेप गर्न नमिल्ने बताए ।

फोहरमैला निरन्तर उठदै आएको बताउदै वडाअध्यक्ष गुप्ताले भनेजस्तो फोहर उठाउन कतै नरोकिएको उनले बताए ।

यता निर्वाचन बिथोल्न खोजेको भनेर कल्पनानै नगरेको विषयसंग जोडेर प्रशासनले आफ्नो चरित्र हत्या गर्ने काम सत्ता गठबन्धनको इशारामा गरेको वडाध्यक्ष गुप्ताले आरोप लगाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content