बारा । मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक एक करोड भन्दा बढी खर्च गरेर राजमार्गमा जडान गरेको पाँच थान सिसिटिभी विथ राडर गन मध्ये तीन वटा छ महिना नपुग्दै बिग्रीएर बन्द भएको छ ।
सिरहाको लहान, सप्तरीको भारदह सहित पाँच स्थानमा जडान गरिएकोमा बाराको निजगढ, पथलैया र महोत्तरीको बर्दिवासमा रहेको आधुनिक प्रबिधिको सिसिटिभी विथ राडर गन बिग्रीएर बन्द भएको हो । बिग्रीएको दुई महिना हुन लागेपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक नातीराम गुरुङ्गका अनुसार पथलैयाको मर्मतका लागि प्रकृया अगाडि बढेको बाँकीको पनि केही दिनमा मर्मत गरिने बताउनु भयो । गत फागुनबाट शुरु भएको सिसिटिभी विथ राडर गन साउनमै खरिद भएपनि सञ्चालनमा फागुनबाट आएको हो ।
एक बर्षको वारेन्टी समय रहेको भएपनि छ महिना नपुग्दै बिग्रीएको हो । प्रयोगको हिसाबले छ महिना भएपनि किनेको समयले भने म्याद सकिएका कारण कम्पनीले पैसा नपाउने कारण समयमै मर्मत नगरेको बताईएको छ । यसको प्रयोगले मधेश प्रदेश अन्र्तगत रहेको राजमार्गहरुमा हुने तिव्र गति नियन्त्रण गर्न र सडक दुर्घटना कम गर्न मात्र नभई अपराध नियन्त्रण, हिटेन रनमा धेरै सहयोगी बनेको गुरुङ्गले बताए ।
सिसिटिभी विथ राडर गन विग्रनु अघिसम्म यसको प्रयोगले पाँच हजार भन्दा बढी सवारीलाई कार्वाहीको दायरामा ल्याईएको र ४० लाख भन्दा बढी राजस्व संकलन भई सकेको उनले बताए । क्यामराको सहयोगमा गाडीको रग, गति, चालक, पेसेन्जर रातीको समयमा पनि छुट्टाउन सकिने गुरुङ्गले बताए । ट्राफिक प्रहरी कार्यालयले यस अघि पनि दुर्घटना न्युनिकरणका लागि विगतमा हैण्डहेड राडर गन, टाईम कार्ड सचेतना फैलाउने काम लगायतका काम गर्दै आएको छ ।
विगतको ‘हैण्डहेल्ड राडर गन’ भन्दा पछिल्लो प्रविधि प्रयोगमा सहज, वैज्ञानिक र उपलब्धिमूलक रहेको र ‘सीसीटिभी विथ राडर गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज भएको ट्राफिक प्रहरी उपरिक्षक गुरुङ्ग बताउँछन ।