मधेस प्रदेशमा पहिलोचोटी टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा लगायत मधेस प्रदेशमा पहिलोचोटी टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिमको मंगलबारदेखि सुरुवात गरिएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल नारा सहित पर्यटनको प्रचुर सम्भावना रहेको मधेश प्रदेशमा नाट्टा मधेस प्रदेशको आयोजनामा बाराको सिमरामा पहिलो पटक तालिमको सुरुवात गरिएको हो ।

नाटा मधेस प्रदेशका अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको जीविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना अन्तरगत आयोजित टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गमलाको विरुवामा पानी हाली उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका अवसरमा नगरप्रमुख पौडेलले अमलेखगञ्जलाई पर्यटन भिलेजको रुपमा विकास गर्न नीति तथा कार्यक्रममा समावेश गरेको, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतीय बाल्मिकी टायगरसँग जोडिएको पर्सा ठोरीको ब्रम्हनगर, खुला चिडियाखाना निर्माण लगायतमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । अमलेखगञ्ज, पथलैया, हलखोरिया दह, सहजनाथ मन्दिर, शक्ति झर्ना लगायतलाई सम्बर्द्धन र प्रचारप्रसार र लगानी बढाउन सके पर्यटन प्रवर्द्धनका यो क्षेत्र पर्यटनको हब बन्ने बताउनुभयो ।

   यसैगरी नाटा मधेस प्रदेश सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले मधेश प्रदेशमा भएका बाराको पर्सा राष्ट्रिय निकुञ्ज, विश्वप्रसिद्ध महागढीमाई मन्दिर, सिम्रौनगढ क्षेत्र, सर्लाहीको भरतताल, धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर मन्दिर, सखरा मन्दिर लगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि प्याकेजिग र टिकेटिँगको व्यवस्थापन कसरी गर्ने योजनाबद्ध अगाडि बढ्नु पर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

लामाले भारतीय पर्यटक, बाह्य मुलुकबाट नेपाल आउने पर्यटक र आन्तरिक पर्यटकका लागि उचित मार्गदर्शन गर्न होटल र पर्यटनवीचमा पुलको काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने भएकोले पनि यस्ता तालिम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ओमप्रकाश पाण्डे, सिमरा कलेज प्रमुख शालिकराम अधिकारी, टुर प्रोडक्ट डेभ्लपमेन्टका प्रशिक्षक तथा मधेश प्रदेश अन्तरगतका विभिन्न टुर एण्ड ट्राभलका प्रशिक्षार्थी तथा सन्चारकर्मर्हीरुको उपस्थिति रहेको थियो ।

          तालिम नाट्टा केन्द्र र नेपाल पर्यटन बोर्डको सहयोग तथा समन्वयमा सञ्चालन गरिएको हो। तालिमको प्रशिक्षक समेत रहेकी नाटा केन्द्रीय कार्यसमितिका सदस्य श्रद्धा जोशीले पर्यटन व्यवसायमा आफूहरुसँग रहेका जनशक्तिलाई व्यवहारिक सिप प्रदान गर्नका लागि यस्ता तालिमको आयोजना गरिएको बताउनुभयो ।

    पर्यटन व्यवसायीलाई मधेस प्रदेशमा भएका पर्यटन गन्तव्यहरु अन्तराष्ट्रिय स्तरमा चिनाउन तथा वाह्य र आन्तरिक पर्यटनलाई व्यवस्थित र व्यवसायमूलक बनाउन सक्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । तालिममा बारा पर्सा लगायत मधेश प्रदेशका गरी करिब ४० जना प्रशिक्षार्थि सहभागी रहेको अध्यक्ष लामिछानेले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content