सिमरा । नेपाली कांग्रेस बाराका पुर्व सभापति राधेचन्द्र यादबकै छोरालाई पार्टीले कार्वाही गरेपनि उद्योगी ईच्छा बाग्लेलाई भने पार्टीले कार्वाही गरेको छैन । पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ काग्रेसका नेतालाई कारबाही गरेको भएपनि गठबन्धनका उम्मेदवार बिरुद्ध उम्मेदबारी दिएका बारा क्षेत्र नं. ४ का महाधिबेशन प्रतिनिधि समेत रहेका ईच्छा बहादुर बाग्लेलाई भने कार्वाही नगरेको हो ।
बारा क्षेत्र नं. ४ मा गठबन्धनबाट प्रतिनिधि सभाका लागि कृष्ण कुमार श्रेष्ठ किसान उम्मेदबार छन । नेकपा एकिकृत समाजवादीको भागमा परेपनि बाग्ले स्वतन्त्रबाट उम्मेदबार बनेका हुन ।
बाराबाटै नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पुर्व सभापति राधेचन्द्र यादबकै छोरा रोशन यादब, महाधिबेशन प्रतिनिधिहरु अरुण ज्ञवाली र प्रभु पटेल सहित ७४ जना कार्वाहीमा परेपनि बाग्ले भने कार्वाहीमा नपरेका हुन ।
मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हो ।
आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा ४ क बमोजिम ५ पाँच वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ । यस्तै कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।