बारा जिल्लाका उम्मेदवार को कस्ता ?

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

संघीय निर्वाचन क्षेत्र नं. १

बारा जिल्लामा ४ वटा संघीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेश क्षेत्र रहेको छ । संघीय ४ क्षेत्रमा ४ पुर्व मन्त्री र १ वहालवाला मन्त्री प्रतिनिधि सभा तर्फ प्रतिस्पर्धामा छन् ।
मुख्य गरी सत्ता गठबन्धन र एमाले गठबन्धन बीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ ।

संघीय निर्वाचन क्षेत्र नं. १ मा खानेपानी मन्त्री उमाकान्त चौधरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् भने उनका प्रतिस्पर्धी बाम गठबन्धनका तर्फबाट अच्यूत मैनाली रहेका छन् ।

अघिल्लो संघीय निर्वाचनमा पनि चौधरीले मैनालीलाई नै पराजित गरी संघीय संसद छिरेका थिए । २०७४ को निर्वाचनलाई हेर्ने हो भने तत्कालिन नेकपा माओवादी र नेकपा एमालेले गठबन्धन गरी निर्वाचनमा सहभागि हुँदा समेत नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले जीत निकालेका थिए । चौधरीले २४४५० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नेता अच्युतप्रसाद मैनालीले २२०३० मत प्राप्त गरेका थिए भने तेश्रो बनेको तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार रामकिसोर प्रसाद यादवले २०१४४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनलाई हेर्दा तत्कालिन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले समेत तालमेल गरेको थिए । पटक पटक मन्त्री भएका चौधरीलाई यस पटक माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समेत साथ रहेको हुँदा चौधरीलाई जीत निकाल्न केही सहज देखिन्छ ।

संघीय निर्वाचन क्षेत्र नं. २

बारा संघीय निर्वाचन क्षेत्र नं. २ मा पुर्व वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमाले लगायत बाम गठबन्धनको साथ रहेको छ । उनी यस अघि २०७४ को निर्वाचनमा समेत यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालिन अवस्थामा संघीय समाजवादी फोरम नेपालका तर्फबाट बिजयी यादवलाई तत्कालिन राजपाले समर्थन गरेको थियो ।
२८ हजार १ सय ८५ मत प्राप्त गरेका यादवले निकटतम प्रतिद्धन्दि नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५७९० मत प्राप्त गरेका थिए ।
बाम गठबन्धनबाट उम्मेदवार बनेका यादवसँग सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार शिव चन्द्र कुशवाहले प्रतिस्पर्धा गर्दैछन् । कुशवाह पहिलो संविधानसभाका सदस्य हुन ।
स्थानीय निर्वाचन २०७९ मा वडागत मतलाई हेर्ने हो भने २६ हजार ९ सय ६६ मत सत्ता गठबन्धनमा देखिन्छ । यस्तै वाम गठबन्धनमा रहेका एमाले र जनता समाजवादी पार्टीको मतभार हेर्दा ३६ हजार दुई सय ३५ देखिन्छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३

बारा निर्वाचन क्षेत्र नं. ३ मा भने त्रिपक्षय भिडन्त हुने देखिन्छ । नेकपा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएकाले यहाँ जनता समाजवादी पार्टी र नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यता सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट लालवावु सिंह भुईहार, नेकपा एमालेका तर्फबाट ज्वालाकुमारी साह र जनता समाजवादी पार्टीका तर्फबाट रामवावु कुमार यादव प्रतिस्पर्धामा छन् ।
यादव संघीय सांसद हुन भने ज्वालाकुमारी साह नेकपा विभाजन पश्चात नेकपा माओवादीबाट एमाले प्रवेश गरेकी हुन । भुईहार मनोनयन दर्ताको एक दिन अघि नेपाली काँग्रेस परित्याग गरी लोसपा प्रवेश गरी उम्मेदवार बनेका हुन । उनी बारा जिल्लाको नेपाली काँग्रेसका पुर्व पार्टी सभापति थिए ।
२०७४ को संघीय निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका भुईहार लोसपाका एकवाल मियाँसँग पराजित भएका थिए ।
ज्वाला साह २०७४ को निर्वाचनमा माओवादीका तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ३ (क)बाट प्रदेशमा विधायक बनेकी थिईन । माओवादी परित्याग गरी एमाले प्रवेश गरेपश्चात उनको विधायक पद खोसिएको थियो ।
गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पक्षमा २८ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो भने एमालेले २३ हजार ४९७ मत प्राप्त गरेको थियो । यस्तै जसपाले १० हजार ५ सय ४० मत प्राप्त गरेको थियो ।
अघिल्लो संघीय संसदको निर्वाचनमा जसपाबाट बिजयी बनेका रामवावुकुमार यादवले २१ हजार ३६६ मत प्राप्त गरी बिजयी बन्दा उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका अध्यानन्द पाण्डेले १६३६२ मत प्राप्त गरेका थिए ।

प्रतिनिधि सभा बारा निर्वाचन क्षेत्र नंं. ४

बारा जिल्लाको अर्को निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र वाम गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
यस क्षेत्रबाट संघीय सांसद बन्न एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ(किसान), नेकपा एमालेका एकवाल मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रोहनकुमार, नेपाल सद्भावना पार्टीका खेदु धाँनुक सहित स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको छ ।

व्यवसाय गर्दा गर्दै राजनीतिमा आएका किसान श्रेष्ठ तनहुँ क्षेत्र नं. १ बाट यस अघि संघीय सांसद बनेका थिए । तत्कालिन एमालेबाट चुनाव जितेका श्रेष्ठले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पराजित गरेका थिए । तत्कालिन पार्टी फुटसँगै नेकपा एकिकृत समाजवादी बनेका श्रेष्ठले सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नं. ४ का उम्मेदवार बनेका हुन ।

सत्ता साझेदार दलका उम्मेदवार बनेका श्रेष्ठले यसै क्षेत्रलाई आधार बनाई व्यापार व्यवसाय गर्दै आएका थिए । घर जग्गा कारोवार समेत गर्ने श्रेष्ठलाई आफ्नो पार्टीको भन्दा पनि सत्ता साझेदार दलको ठूलो मत चाहिने देखिन्छ । एकिकृत समाजवादीको खासै जनाधार नरहेकाले उनले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीको भोट तान्नु पर्ने हुन्छ ।

ठूला राजनीतिक दलका दुवै उम्मेदवारसँग भने संसदीय अनुभव छ । यही क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेर संसद पुगेका एकवाल मियाँ यति बेला भने उम्मेदवारी मनोनयन गर्नु भन्दा एक दिन अघिमात्र नेकपा एमाले प्रवेश गरी एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

१८ दिने युवा तथा खेलकूद मन्त्री समेत भएका मियाँले २०७४ को निर्वाचन २२२७५ मत प्राप्त गरी मा बिजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार देवनारायण थारु चौधरीलाई एक हजार ६ सय ६८ मतान्तरले हराएका थिए ।

उम्मेदवारी दर्ता हुनु एक दिन अघि मात्र नेकपा एमाले प्रवेश गरेका मियाँलाई यस पटकको निर्वाचन जित्न भने त्यति सहज देखिन्न । एमाले भित्रैका केही असन्तुष्ट नेता कार्यकर्ता मिलाउनु पर्ने, आफ्नो पुरानो दल लोसपाको मत प्राप्त नहुने हुँदा उनलाई यस पटक संसद छिर्न त्यति सजिलो भने हुने छैन । स्थानीय निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्र भित्र रहेका वडाहरुको मतभार यस्तो रहेको छ ।

सत्ता गठबन्धनको पक्षमा ५१ हजार २ सय ५९ मत देखिन्छ भने बाम गठबन्धनको पक्षमा ३२ हजार ३ सय १५ मत देखिन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content