गुरुप्रसाद गौतम
२०७९ मंसिर ४ गते
बारा । बारा जिल्लामा ६६.८६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल चार लाख ३३ हजार ५०४ मतदाता रहेकोमा मतदान गर्नेमा १,५२,०६४ पुरुष, १,३३,७७६ महिला र एक अन्य गरी दुई लाख ८९ हजार आठ सय ४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए ।
चार निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ३० स्वतन्त्र, २ महिला सहित ७७ जना प्रतिस्पर्धामा उत्रिएका छन । त्यस्तै आठ प्रदेश सभाको सदस्य पदका लागि ४४ स्वतन्त्र, ३ महिला सहित १०७ जना चुनावी मैदानमा छन ।
मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको बताउदै सर्वदलिय बैठक गरेर मतगणना शुरु गर्ने तयारी भईरहेको छ । सम्पुर्ण कर्मचारी तयारी अबस्थामा राखिएकोले राजनैतिक दलबिच सहमति गराएर आजदेखिनै मतगणना शुरु गर्न प्रयास भईरहेको छ । हरेक क्षेत्रको क्षेत्र क्षेत्रमै मत गणना गर्ने ब्यबस्था मिलाईएको कार्यालयका प्रमुख चौधरीले बताए ।
६ पुर्व मन्त्री र एक बहालबाला मन्त्री रहेको यस जिल्लामा खानेपानी मन्त्री उमाकान्त चौधरीले कोल्हबीको बेल्वा बिद्यालयमा बिहान पहिलो मतदान गरेका थिए ।