सिमरामा छिट्टै नगर अस्पताल शुरु हुने, नियुक्ती पाए मेडिकल अधिकृत र स्टाफ नर्सले

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 751 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । एक जना पनि डाक्टर र बिशेषज्ञ चिकित्सक नभएको बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा छिट्टै मेडिकल अधिकृत सहितको नगर अस्पताल शुरु हुने भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाले अस्पताल सञ्चालन गर्न माघ १ गतेदेखिनै तलब खुवाउने गरी तीन मेडिकल अधिकृत, तीन स्टाप नर्स , एक फार्मेसी सहायक नियुक्त गरेको छ । संघीय सरकारको डाक्टरको दरबन्दी भएपनि पटक पटक माग गर्दा समेत सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत लामो समयदेखि डाक्टर बिहिन हुदै आएको छ ।

नगर प्रमुख राजन पौडेल निर्वाचित भए लगत्तै स्वास्थ्य सेवा दयनीय बन्दै गएकोमा चिन्ता ब्यप्त गर्दै तिहार लगत्तै नगर अस्पताल सञ्चालन गर्ने बताएका थिए ।

उपमहानगरपालिकामा डाक्टर नहुदा नगरबासी हेटौडा र बिरगन्ज जान बाध्य थिए । जनताको प्रत्यक्ष सरोकार जोडिएको स्वास्थ्य, कृषी र पशु सेवालाई सुदृढ गर्दै नागरिकमा सेवा प्रवाह बढाउने सोचका साथ तीनै क्षेत्रमा छनौट भएका प्राविधिक कर्मचारीलाई आज बुधवार नियुक्ति पत्र प्रदान गरिएको हो ।

उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ खरेल, सुचना अधिकारी रामेश्वर बन्जारा, वडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङ लगायतको उपस्थितीमा एक समारोहका बिच छनौट भएकाहरुलाई बधाई सहित नियुक्ती पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नव नियुक्त मेडिकल अधिकृतहरु प्रशान्त बर्णवाल, प्रतिक कुमार र सुजल अधिकारी, फार्मेसी सहायक अशोक कुमार साह , स्टाफ नर्सहरु सविना रेग्मी, तरानुम नेसा र राधिका सुब्बा, कृषी अधिकृत अनिस प्याकुरेल र पशु चिकित्सक सुवाश झाले नियुक्ती पत्र बुझदै नगरको निर्देशन बमोजिम आफनो जिम्मेबारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

नगरका तर्फबाट मेडिकल अधिकृत नियुक्ती भएसगै अब चाडै सिमरामा हाल प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा उपलब्ध रहेका कोठाहरुबाटै केही दिन भित्रै नगर अस्पताल सञ्चालनका लागि अब तयारी पुगेको नगरप्रमुख राजन पौडेलले बताएका छन । उनले भवन निर्माणको काम भई रहेकोमा भवन सम्पन्न भएर अस्पताल सञ्चालन गर्दा नागरिकले आधारभुत स्वास्थ्य सुबिधा सम्म पाउन बञ्चित हुने देखिएकोले जतिसक्दो चाडो नगर अस्पताल सञ्चालनका लागि आफुहरुको ध्यान रहेको उनले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content