सिमरा । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसका अवसरमा शाखा बाराले पत्रकार कल्याण कोषको स्थापना गरेको छ । संगठनमा आवद्ध संचारकर्मीहरुको हितका लागि कल्याण कोष स्थापना गरेको हो ।
सम्पन्न स्थापना दिवस कार्यक्रममा चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले कल्याण कोष स्थापनाको घोषणाले बाराका सञ्चारकर्मीहरुका लागि राहत प्रदान गर्ने बताउनु भयो । अध्यक्ष भण्डारीले कार्यविधि निर्माण गरी कोषलाई कार्यान्यवनमा ल्याउने बताएका छन् ।
चौतारी बारामा आवद्ध रही सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मीलाई लक्षित गरेर कोष स्थापना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले कोषको अवधारणा प्रशंसा योग्य रहेको भन्दै आफूले समेत सहयोग गर्ने बताए ।
प्रदेश सभा सदस्य चौधरीले जिल्लामा प्रेस चौतारीमा आवद्ध संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा समेत गरे । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले व्यक्तिगत रुपमा कोषका लागि १० हजार रकम उलपब्ध गराउने घोषणा गरे । विकले कोषको स्रोत बलियो बनाउन र कार्यान्यवनलाई प्रभावकारी बनाउन उत्कृष्ट कार्यविधि बनाएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्यायले कोषका लागि २१ हजार रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले स्थानीय सरकारले गरेका गतिविधिलाई जनतामाझ लैजाने संचार क्षेत्रलाई आफूले सधै प्राथमिकता दिने बताए । उपप्रमुख अधिकारीले संचार क्षेत्रको उत्थानका लागि नगरबाट हुने सहयोगमा कमी नहुने र कल्याण कोषका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेलले सुशासन र समृद्धिका लागि संचार क्षेत्रको भूमिका अहम रहेको बताए । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठले कल्याण कोषका लागि सात हजार सहयोग गर्ने घोषणा गर्दै रकम हस्तान्तरण गरे । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवम् बाराका संस्थापक सदस्य गोकुल घोरसाईनेले जिल्लामा प्रेस चौतारी स्थापनाको इतिहास सम्झदै वर्तमान अवस्थामा संगठन निकै ठुलो र फराकिलो भएको बताए ।
कार्यक्रममा प्रेस चौतारीको सदस्य रही जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्षमा निर्वाचित भएका हरिदेव खरेललाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै खरेलले प्रेस चौतारीलाई थप बलियो बनाउन र कल्याण कोषका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल मधेस प्रदेशका उपाध्यक्ष अनिल तिवारीले कोषका लागि पाँच हजार, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरवले आफू कार्यरत शान्ति मिडिया प्रालिको तर्फबाट कोषका लागि ६ हजार उलपब्ध गराउने घोषणा गरे । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष राधेश्याम पटेलले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष निलिसा बर्माले राखेकी थिईन् ।
बृद्धबृद्धालाई खाद्यान्न तथा फलफूल वितरण
दिवशको उपलक्ष्यमा प्रेस चौतारी बाराले बृद्धबृद्धालाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । जीतपुरसिमरा १ पथलैयास्थित जेष्ठ नागरिक बृद्धाश्रममा पुगेर चौतारीले आश्रममा खाद्यान्न र फलफूल वितरण गरेको हो |
चौतारीले फलफूल, जुस, चामल, दाल, तेल, आलु, बिस्कुट लगायतको खाद्यान्न सामाग्री वितरण गरेको थियो । चौतारी बाराका उपाध्यक्ष निलिसा बर्मा, जिल्ला कार्यसमिति सदस्य तुलसा घिमिरे, रञ्जना खतिवडाले बृद्धबद्धालाई फलफूल वितरण गरेका थिए ।
कार्यक्रममा चौतारीका प्रदेश कमिटी सदस्य शम्भु महतो, प्रेस चौतारीको केन्द्रीय परिषद सदस्य पुष्पराज खतिवडा, फोनिजका मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी लगायतको उपस्थिती रहेको थियो ।