बारा । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुँदा सवारी दुर्घटना र यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन ।
तीन बर्षमा निर्माण सक्ने गरी पक्की पुल निर्माण गर्न चार वर्षअघि नै ठेक्का लिएको महादेव खिम्ती हिराजन जेभीले समयमै काम नसकेर एक बर्षको म्याद थपेको छ । थपेको म्याद समेत २०८० असार आउन लागेपनि काम भने सुस्त गतिमा छ ।
दुधैरा पुल समयमै निर्माण नभएको कारण लामो समय यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको छ । पुल निर्माणमा ढिलाई हुदा सो क्षेत्रमा दुर्घटना बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय पथलैयाका प्रहरी निरिक्षक शुशिल आचार्यले बताउनु भएको छ । आचार्यले ठेकदारले पुल निर्माणमा चरम लापर्वाही गरेको समेत बताउनु भएको छ । निर्माण क्षेत्रमा सुचना पाटी, डाईभर्सनका बोर्ड नहुदा झनै समस्या हुने गरेको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि दुई वर्ष मै निर्माण सम्पन्न गरिने योजनाका साथ काम गरेका भनेर शुरु गरेकमो महादेव खिम्तीले चारबर्ष बित्न लागेपनि काममा तिब्रता नदिएको हो ।
निर्माण कम्पनीले तोकिएको समय बितेर थप एक बर्षको समय बित्न लागेपनि ३० प्रतिशत मात्रै काम गर्न सकेको छ । पुल नहुदा खोलामा गरिएको करिब एक किलोमिटर डाईभर्सनको कच्चीबाटोबाट सवारीसाधन तथा यात्रु यात्रा गर्न बाध्य छन् । सम्झौता अनुसार तीन वर्ष २०७९ असार भित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि थप गरेको एक बर्ष पुग्न लागेपनि काम भने खासै प्रगती नभएको अनुगमनमा खटिएका सडक विभाग मातहतको पुल महाशाखाका ईन्जिनियर निरन्जन थापाले बताउनु भएको छ ।
१५ करोड २३ लाख लागतमा पुल निर्माणको कम्पनीले जिम्मा लिएको हो । ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाईं २३ मिटर रहने बताइएको छ । पाँच वर्षमा दुई पटक पुल भाँसिएपछि अहिले चार लेनको पुल निर्माण सुरु गरिएको हो । कामले तिब्रता पाउन नसक्दा समयमै पुल निर्माण हुनमा शंका उत्पन्न भएको छ । बर्सेनी पुल नहुदा वर्षायाममा यात्रुहरुले रात जंगल मैं बिताउँन बाध्य हुने गरेका छन ।