बारा । जो रक्षक उही भक्षक भने झै वडाअध्यक्ष आफै वन फडानीमा सम्लग्न रहेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन । डिभिजन वन कार्यालय बाराले दुई बर्ष अगाडि पाँच दशमलब तीन हेक्टरमा लगाईएको बृक्षारोपण फडानी गरेको आरोपमा कोल्हबी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका हुन । वन अतिक्रमण गर्न विरुवा फडानी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
१२ लाख रुपैया खर्च गरी दुईबर्ष अघि टिक, मसला, कटहर लगायत लगाईएको बिभिन्न जातका ८ हजार ५ सय पचास वटा बिरुवा र छेकबारको ७१ पोल पुर्णरुपमा नष्ट भएको छ ।
फागुमा गत २३ गते राती वडाअध्यक्ष चौधरीको अगुवाईमा स्थानीयले सुकुम्बासीबाट पुर्जा बनाउन सो बृक्षारोपण क्षेत्रका बिरुवा र तारबार नष्ट गरेको सुचनाका आधारमा शनिबारनै पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ ।
शनिबार वन फडानी क्षेत्रमा अनुगमनमा गएको समयमा डिभिजन वन अधिकृत बिनोद सिंह, प्रदेश वन निर्देशक जगरनाथ जयसवाल, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कोल्हबी नगरका नगर प्रमुख राम प्रसाद चौधरी , नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन वन, प्रहरी र नगर प्रमुख सहितको टोली समक्ष वडाअध्यक्ष चौधरी अभद्र शैलीमा प्रस्तुत भएपछि उनलाई तत्कालै पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो ।
१५÷१६ फिटका सयौं रुख रातारात वडाध्यक्षकै नेतृत्वमा फाडिएको छ, जनप्रतिनिधिलाई तत्काल पक्राउ गर्ने भन्दा छानविन पछि पक्राउ गर्ने तयारी थियो । अनुगमनमै अभद्र शैली पछि उनलाई पक्राउ गरेरै अनुसन्धान बढाईएको सिहले बताए । पहिला पनि उक्त ठाउँलाई अतिक्रमण गरेर घरटहराहरु बनाएपछि त्यसलाई हटाएर वृक्षारोपण गरिएको थियो ।
पक्राउ परेका वडाध्यक्ष चौधरीलाई २४ दिनसम्म डिभिजन वन कार्यालयले छानबिन र अनुसन्धानका लागि हिरासतमा राख्न पाउने र थप समय आवश्यक परे अदालत समक्ष म्याद थप गरी अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ । वडा अध्यक्ष चौधरी माथिको आरोप छानविन र अनुसन्धानका लागि डिभिजन बन कार्यालय बाराकै कर्मचारी अब्दुल करिमलाई अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान अगाडि बढाइएको डिभिजन प्रमुख सिंहले बताउनु भयो ।
वन ऐन २०७६ मा उल्लेख भए अनुसार नर्सरीमा रहेका वा वृक्षारोपण गरिएका विरुवा काट्ने, भाच्ने वा कुनै प्रकारले नोक्सानी गरेमा प्रति विरुवा ५ सय रुपिया जरिवाना हुने र कसुरको मात्रा हेरी १ वर्ष कैद र २० हजार जरिवाना वा दुवै हुन सक्नेछ । त्यस्तै नर्सरीमा वृक्षारोपण गरिएका क्षेत्रका तारवार वा खम्बा उखल्ने, नोक्सानी गर्ने, सम्पत्ति विगारे वा चोरी गरेमा विगो असुल गरी छ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले बन फडानी गर्नु निन्दनिय कार्य भएकोले अतिक्रमण गर्ने माथि कडा कार्वाही गरिने बताउनु भएको छ ।
फडानीमा आफ्नो संलग्नता नभएको अनुगमन टोलीसगै पुगेका पत्रकारहरु सामू वडा अध्यक्ष चौधरीले बताएका छन् ।