बारा । बाराको सिमरा रंगशालामा जारी १३औँ जितपुर–सिमरा गोल्डकप अन्र्तगत शनिबार भएको खेलमा मकवानपुर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसकेको मकवानपुर ११ ले भरतपुरविरुद्ध टाइब्रेकरमा ४–३ को जित निकालेको हो । करिब पाँचहजार दर्शकको उपस्थिति रहेको सिमरा रंगशालामा पहिलो क्वार्टरफाइनल रोमाञ्चक रह्यो । अतिरिक्त समयमा मकवानपुरले पुनः एकपटक खेलमा अग्रता बनाएको हो ।
मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपेका थिए । मकवानपुरको जितमा टाइब्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरे । मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाए ।
भरतपुरका लागि सजिन थापा, भीष्म क्षेत्री र सुनील श्रेष्ठले गोल गरे ।
निर्धारित समयको खेलमा मकवानपुरले खेलको १०औँ मिनेटमै २–० को अग्रता बनाइसकेको थियो । चौथो मिनटमा सुजन गुरुङको गोलबाट मकवानपुरले अग्रता बनाएको थियो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल नियन्त्रणमा लिँदै सुजनले करिब ३० यार्ड परबाट गोल गरेका थिए ।
मकवानपुर ११ ले १०औँ मिनेटमा मनीष पौडेलको गोलबाट अग्रता दोब्बर पारेको थियो । मनिषले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।
३३औं मिनटमा भरतपुरका भीष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भीष्म क्षेत्रीले आकर्षक हेडिरगोल गरेका थिए ।
२२ मिनेटपछि सजिन थापामगरले भरतपुरलाई खेलमा फर्काए । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गर्दै बल २–२ को अवस्थामा ल्याए । निर्धारित ९० मिनेटमा त्यसपछि गोल हुन सकेन । र खेल ३० मिनेट अतिरिक्त समयमा गयो ।
पाँचौँ मिनेटमा भरतपुरका सुधांश चौधरीले आत्मघाती गोल गरेपछि मकवानपु ३–२को अवस्थामा पुग्यो । तर, भरतपुरले हार मानेन । सुनील श्रेष्ठले अतिरिक्त समयको १५औँ मिनटमा मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै आकर्षक गोल गर्दै खेल ३–३ को अवस्थामा ल्याए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको हो ।
टाइब्रेकरमा मकवानपुर ११ बिजयी

प्रतिक्रिया
प्रतिक्रिया