बारा क्षेत्र नं. २ आ–आफना उम्मेदबार उठाउदै दलहरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

मित्रवत प्रतिस्पर्धामा जान सुझाव, एमाले सहित साना दल पर्ख र हेरमा

बारा । आगामी वैशाख १० गते बाराको क्षेत्र नं. २ मा रिक्त रहेको संघीय सांसदको उपनिर्वाचनका लागि सबै पार्टीले आ–आफना उम्मेदबार अघि सार्ने भएका छन् । जसपा, नेपाली काग्रेस र माओवादीको उम्मेदवार प्रतिस्पर्धा हुनुपर्ने भन्दै आफना उम्मेदवार अघि सारेका छन् । एमाले, जनमत र लोसपा पर्ख र हेरको अबस्थामा असन्तुष्टको मत तान्न कसरत गरिरहेका छन् । उम्मेदवार बनेका जिल्लाका नेताहरुले मित्रवत प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । बिगतमा काटामारको अबस्थामा रहेका नेपाली काग्रेसका जिल्ला नेताहरु यस पटक भने एक भएर निर्वाचनमा होमिएका छन् । सबै गुटका नेताहरुले जो सुकै गुटकै भएपनि काग्रेस बाहेक अन्यमा मत नहाल्ने भन्दै नेतृत्वलाई खबरदारी गरेका छन । त्यसैले पनि एकल नाम कार्यसमितिले सर्बसहमतिमा सिफारिसप्रति कसैको विमती नरहेको बताएका छन ।

नेपाली काग्रेस बाराद्धारा एकल नाम सिफारिस

नेपाली काग्रेस बाराले मित्रवत प्रतिस्पर्धामा जान सुझाव दिदै एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्रिय कार्य समितिले उपनिर्वाचनका लागि नाम सिफारिस गर्न चैत्र ८ गते परिपत्र गरेपछि जिल्ला कार्य समिति बाराले पहिलो पटक सर्बसहमतिले पुर्व सभापति एवम पुर्व सांसद राधेचन्द्र यादबको एकल नाम सिफारिस गरेको हो ।


क्षेत्रको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले आज निर्णय गरेर यादवको नाम मधेस प्रदेश र बोधार्थ केन्द्रिय कार्यसमितिलाई पठाइएको छ । सिफारिसमा जिल्ला सभापति राजेश राय यादवद्वारा हस्ताक्षर गरिएको छ ।

राधेचन्द्र यादव २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्ला सभापति समेत हुन । यादव नेपाली कांग्रेसभित्र पुराना र इमानदार नेता मानिन्छन् । बारा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका ५ वटा स्थानीय तहमध्ये महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको प्रमुख, उपप्रमुख नेपाली कांग्रेसको नेतृत्वमा छ ।

नेपाली काग्रेस बाराको जिल्ला कार्य समितिको जिल्ला अबिधेशनदेखिनै विभिन्न तीन गुट देखिदै आएको काग्रेसले पहिलो पटक कार्यसमितिको बैठकले क्षेत्र नं.–२ क्षेत्रिय कार्य समितिबाट आएको एकल नामनै जिल्लाले सर्बसहमतिले सिफारिस गर्ने निर्णय गरेको हो ।  क्षेत्र नं. २ का निर्वाचित संघीय सांसद रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।  गएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा गठबन्धन गरेका कारण नेपाली काग्रेस शून्य अवस्थामा पुगेकोले कांग्रेसले यस पटक बारा–२ पाउनु पर्ने बारामा रहेको काग्रेसको तीनै गुटका नेताहरुको भनाई छ ।

संस्थापन ईतर समुहका नेता नेपाली काग्रेस बाराका उपसभापति मनोज भट्टले पार्टीले काग्रेसको जसलाई टिकट दिएपनि एक भएर निर्वाचनमा जाने बताउनु भएको छ । उनले काग्रेस बलियो रहेको क्षेत्रमा गठबन्धनका नाममा अन्यलाई मान्दैनौ | पार्टीको विवादका कारण विगतमा धेरै ठाउमा हार ब्यहोर्नु परेपनि अहिले सबै एक भएर सर्वसहमति निर्णय गरेका छौ । अन्य पार्टीलाई मत दिदैनौ उनले बताए ।

नेपाली कांग्रेस बारा क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादवले केन्द्रमा शीर्ष नेताहरूले निर्णय गर्दैमा बारा–२ मा कांग्रेसका मतदाताले उपेन्द्र यादवलाई भोट नहाल्ने बताएका छन ।  कांग्रेसका मतदाताले सधैँ अरू दलका उम्मेदवारलाई भोट हाल्नुपर्ने केन्द्रका नेताहरूको आफ्नो स्वार्थ होला तर हामी उपेन्द्र यादवलाई कुनै हालतमा स्वीकार्दैनौ । हाम्रो माग भनेको मित्रवत प्रतिस्पर्धा हुनुपर्छ भन्ने हो ।’ क्षेत्रीय सभापति यादवले बताएका छन् ।

    ‘जिल्ला तहका नेता कार्यकर्ताहरूमा मित्रवत प्रतिस्पर्धा हुनुपर्छ भन्ने माग छ, तर हाम्रो माग जे जस्तो भए पनि केन्द्रको निर्णय मान्नैपर्छ,’ नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले बताउनु भएको छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सो क्षेत्रमा  उठ्न आन्तरिक तयारी तिब्र पारेका छन् । यादब आफै सो क्षेत्रमा उठ्न पनि यादबलाई उपराष्ट्रपति बनाएकोले यादबनै उम्मेदवार हुने निश्चित जस्तै छ । जसपा र नेपाली काग्रेसको प्रतिस्पर्धा रहेको सो क्षेत्रमा जिल्लाका जसपा नेता कार्यकर्ता सबैले केन्द्रिय अध्यक्ष यादबनै उम्मेदबार भएको बताएका छन् । सो निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहेका रामकिशोर यादव भने जसपा नेपालमा फर्किसकेका छन ।

 

माओवादीका कुशवाहाको पनि उम्मेदवारी

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित बनेका माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहा निर्वाचनमा पुनः उम्मेदबारी दिने बताएका छन् ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशवाहाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले केन्द्रमा गठबन्धन गरे आपूm अन्य दलबाट वा स्वतन्त्र भएर पनि उम्मेदवारी दिने घोषणा गरेका छन । आन्तरिक रूपमा ४ दलले उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरे आफुलाई मान्य नहुने कुश्वाहाले बताएका छन ।

कुशवाहले भने ‘मेरो क्षेत्रमा जनताको माग छ तपाईंले चुनाव लड्नैपर्छ । पार्टीले सपोर्ट नगरे स्वतन्त्र भए पनि लड्नु पर्छ भनेकोले जनताको भावना अनुसार स्वतन्त्र भए पनि लड्छु । उनले एमाले र जनमत लगायत अन्य पार्टीबाट पनि आफूलाई उम्मेदवार बन्न प्रस्ताव आएको बताएका छन ।

एमाले सहित साना दल पर्ख र हेरमा

नेकपा एमालेले पनि उम्मेदबार छनौट गर्न आन्तरिकरुपमा काम अघि बढाएको भएपनि छलफलमै रहेको निर्णय भई नसकेको नेकपा एमालेका केन्द्रिय सदस्य पुरुषोत्तम पौडेलले बताउनु भएको छ । एमाले एक नेताका अनुसार सत्ता गठबन्धनको उम्मेदबार हेरेर पर्ख र हेरको रणनिती एमालेले लिएको बताएको छ । सत्ता गठबन्धनको असन्तुष्ट मत तान्न एमाले पर्ख र हेरमा रहेको छ ।

जनमत, लोसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि उम्मेदवारी

जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले पनि सप्तरीका जनताले पराजित गरेका उपेन्द्र यादव चोरबाटोबाट संसद छिर्न बारा –२ मा चुनाव लड्न खोजेको भन्दै यादवविरुद्ध आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरेका छन । केही दिन अघि बाराको कलैयामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । लोसपा पार्टीले पनि आफ्नो उम्मेदवार उठाउने जनाएको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा भने टुंगो नलागेको लोसपा र जनमत पार्टीले जनाएको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफनो उम्मेदवार बारामा उठाउने जनाएका छन । जिल्लाको ४ वटा निर्वाचन क्षेत्र रहेको छ । यो क्षेत्रमा २ वटै प्रदेशसभा सदस्य जसपाबाट निर्वाचित भएका छन । जसपा र नेपाली काग्रेसबिच मुख्य प्रतिस्पर्धा भएपनि असन्तुष्ट मतलाई क्यास गर्न केही दलले उम्मेदवार टुङ्गाएका छैनन ।

शेयर
प्रतिक्रिया
Skip to content