सिमरा । आगामि बैशाख १० गते हुन गईरहेको बारा क्षेत्र नं. २ को प्रतिनिधिसभाको उप–निर्वाचनका लागि बाराको सदरमुकाम कलैयामा एक समारोहकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला २ नं. ईजलासका न्यायाधिश मुकेश उपाध्यायको अध्यक्षतामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
अधिकृत उपाध्यायले निर्वाचनमा निष्पक्षता एवं स्वतन्त्रतामा कहिं कतै पनि कमी नहुने गरी निर्वाचन सम्पन्न गर्न आफूहरु लागि परेको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफ्नो तर्फबाट निर्वाचन गर्न सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखेको बताउँदै निष्पक्ष
र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको बताउनु भएको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र साहले सदरमुकाममै कार्यालय राख्न र मत गणना गर्न सुझाव दिनुभयो ।
निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेकोमा हाल सामाग्री व्यवस्थापन र जनशक्ति व्यवस्थापनमा लागि परेको बताउनु भएको छ । सोमवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोले सो को तयारीमा रहेको बताउँदै बिगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार ११ थियो भने १ लाख ५ हजार २ सय ९८ पुगेको बताउनु भएको छ ।
यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका र देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको यो निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ ।
प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएको छ । त्यसैका लागि उपनिर्वाचन हुँदैछ ।