बारा । निजगढ नगरपालिकाले आम्दानीको स्रोत बढाउन ब्यबसाय दर्ता तथा नविकरण घरघरमै पुगेर गर्न शुरु गरेको छ । आइतवारबाट व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी घुम्ती टोली संचालन गरेर नगरभित्रका व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन दर्ता तथा नवीकरण टोली खटाएको हो ।
कार्यालय प्रमुख देखि जनप्रतिनिधिहरु समेत घरघरमा पुगेर ब्यबसाय दर्ता तथा नविकरण शुरु गरेका हुन । घुम्ती शिबिरले दुवै पक्षलाई लाभ पुगेको आफनै पसलमा नविकरण गरेका स्थानीय ब्यबसायी शंकर तामाङले बताउनु भएको छ ।
अर्का उद्योगी किशोर नेपालले आर्थिक मारमा रहेका उद्योगीलाई नगरले करमात्र लिनु भन्दा ब्यबसायीको हकहितमा समेत काम गर्नुपर्ने बताउनु भएको छ ।
निजगढ नगरपालिका विगतको बाँकी बक्यौता र यसबर्ष ढुङगा गिट्टीको ठेक्का नलागेका कारण आर्थिक शंकटमा परेको छ । नगरले व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन शिबिर शुरु गरेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले बताउनु भयो ।
नगर उद्योग वाणिज्य संघको समेत सहकार्यमा सुरु भएको दर्ता तथा नविकरण अभियान आगामी चैत्र मसान्त सम्म संचालन हुने नगरपालिकाका उपप्रमुख सोममाया थिङले बताउनु भएको छ । चैत्र मसान्तभित्र व्यवसाय दर्ता तथा नविकरण गर्दा जरिवाना मिनाहा गरिने समेत कार्यालयले जनाएको छ ।
घुम्ति टोलीमा निजगगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रशासकीय अधिकृत निरौला, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
आईतबार सम्पन्न शिविरमा दर्ता भएका ५२ को अनुगमन भएको छ । जसमा ३० वटा कागजपत्र नभएका तथा नविकरण नभएका ब्यबसायीलाई ५ दिनभित्र कार्यालयमा आएर नविकरण गर्न पत्राचार भएको छ भने १५ वटा नविकरण शिविरमै भएका छन् । दर्ता नभएको एक ब्यबसायलाई नयाँ दर्ता भएको राजस्व प्रमुख दिनेश श्रेष्ठले बताउनु भयो ।