जीतपुर सिमरा उपमहानगरले  सार्वजनिक जग्गा अतिक्रमण हटाउन शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 528 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । जीतपुर सिमरा उपमहानगरले नगर क्षेत्रमा भएको सार्वजनिक जग्गा अतिक्रमण हटाउन शुरु गरेको छ । उपमहानगरले मुख्य बजार जीतपुरबाट अतिक्रमण हटाउन शुरु गरेको हो । जीतपुरमा रहेको गौशालाको सार्वजनिक जग्गा कब्जा गरेर बनेका भौतिक संरचना आईतबार डोजर लगाएर खाली गरेको छ ।


‘वीरगन्ज–जीतपुर गौशाला’ नामको एक गैरसरकारी संस्थाले करिब ३ दशकदेखि भोगचलन गर्दै आएको सार्वजनिक जग्गा उपमहानगरले खाली गराएको हो । एक बिगाहा ५ कठ्ठा जग्गामा विगत लामो समयदेखि भौतिक संरचना बनाएर स्थानीयहरुसँग मनोमानी ढंगले भाडा उठाउँदै आएका थिए ।

जितपुरसिमरा उपमहानगर वडा नं. ७ का वडाअध्यक्ष सुनिल गुप्ताले नगरको सर्वसम्मत निर्णय अनुसार अतिक्रमण क्षेत्र हटाउन शुरु गरिएको बताउनु भयो । आफनो वडामा मात्रै ठुलो क्षेत्र अतिक्रमण भएकोमा अन्यत्र समेत हटाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सार्वजनिक जग्गामा बनेका संरचना हटाउन पटक पटक अनुरोध गरेपनि नहटाएपछि उपमहानगरले आफै हटाउन शुरु गरेको बताउनु भयो । यसमा प्रशासनले खुलेर सहयोग नगरे पनि स्थानीय बासिन्दाको सहयोगमा संरचना हटाउने काम सफल भएको उनले बताए ।

उनले झडपको स्थिति सिर्जना नहोस भन्नका लागि मात्रै प्रशासनले थोरै संख्यामा सुरक्षाकर्मी पठाएको तर खुलेर सहयोग नगरेको गुनासो गरे । ‘यो जग्गा अब उपमहानगरपालिकाले आफ्नो मातहतमा राखेर संरक्षण गर्दछ,’ पुरीले भने ।
२०५२ सालमा ‘वीरगन्ज जीतपुर गौशाला’ नामको एक गैरसरकारी संस्था दर्ता गरेर भौतिक संरचना निर्माण गरेर जीतपुरका स्थानीयलाई प्रति सटर १७ देखि २० हजार रुपैयाँ मासिक भाडामा लगाउँदै आएको स्थानीय व्यवसायीहरुको भनाइ छ । उपमहानगरको अतिक्रमण हटाउने कार्यमा स्थानीयले समेत साथ र सहयोग गरेका छन् ।
गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगर जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको उपमहानगरले अदालतको सोही फैसलाको आधारमा गौशालामा रहेको अनाधिकृत भौतिक संरचना भत्काइएको नगरप्रमुख राजन पौडेलले बताए ।

गौशालाको सो सार्वजनिक जग्गामा करिब ३५ वटा गाई, बाच्छाबाच्छी रहेकोमा चौपायाको हेरचाहका लागि उपमहानगरले आइतबारदेखि दैनिक ज्यालादारीमा २ जना कर्मचारी समेत खटाएको छ ।

जीतपुरको यो अतिक्रमण हटाएसगै डुमरवाना, सिमरा लगायतका धेरै अतिक्रमण गरी घरटहरा बनाएर भाडा उठाउदै आएको सयौ विगाहा अन्य क्षेत्रको अतिक्रमणमा पनि सुचना जारी भईसकेकोले बिस्तारै हटाउदै जाने कार्यक्रम रहेको जीतपुरसिमराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content