बारा । बारामा वन अतिक्रमण तिब्ररुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपनि नियन्त्रणको प्रयास हुन नसक्दा अतिक्रमण बढ्दै गएको हो ।
जिल्लाको भरतगंजसिगौल चकरी, नयाँबस्ती, डमरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैया लगायत विभिन्न स्थानमा गरी करीब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।
निजगढ १ भरतगन्जसिगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक बनका सचिब राजकुमार थापाले वन समितिका केही ब्यक्तीहरुनै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताउनु भएको छ ।
सामुदायिक र साझेदारी वन समितिहरु झण्डै १५ बर्ष साधारण सभा नभई लामो समय वन संरक्षण गर्न बनेका समितिहरु निष्कृय हुदा अतिक्रमण बढेको हो ।
वन अतिक्रमण तीब्ररुपमा बढेपछि नियन्त्रण रणनीति २०६८ लागू गरेको १२ वर्ष भएपनि सफलता हासिल हुन सकेको छैन । वन क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेर वन अतिक्रमणकारी, चोर तस्कर समूहलाई संरक्षण मिलेको छ ।
जनशक्ती सामुदायिक वनका अध्यक्ष निर्मल कुमार केसीले राजनैतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताउनु हुन्छ ।
वनजङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन । बन समितिहरु निस्कृय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सव डिभिजन कार्यालय धन्सारका प्रमुख एवम सहायक वन अधिकृत रघुनाथ दासले बताउनु भएको छ ।
स्थानीय सरकार प्रहरी प्रशासनको सहयोग विन अतिक्रमण हटाउन नसकिने अबस्थामा पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले बताउनु भएको छ ।
सरकारले वन क्षेत्र अतिक्रमण हटाउन इमान्दारीका साथ अघि बढ्न सकिरहेको छैन । त्यसो त अतिक्रमित वन क्षेत्रमा केही वर्ष खेतीपाती गर्दै आएकालाई जग्गाधनी पुर्जा वितरण गर्ने सरकारको नीतिका कारण बारामा हजारौं हेक्टर वन क्षेत्र गुम्ने अवस्था एकातिर छ भने यसबाट प्राकृतिक विपत्ति मानव समुदायले भोग्नुपर्ने निश्चित छ ।