लक्ष्मी खरेल
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्र्तगतको जन स्वास्थ्य प्रवर्द्धन शाखाले डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । वर्षातको समय नजिकिंदै गरेको र डेंगु लगाएत रोगको जोखिम रहेको भन्दै आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
विषेश गरि विद्यार्थीहरु मार्फत किटजन्य रोग नियन्त्रण गर्ने सोचका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागीता रहेको थियो । शिक्षा तथा विज्ञान विषयका शिक्षकशिक्षिकाहरूलाई किटजन्य रोगहरु बारे जानकारी गराउँदै स्वास्थ्य शाखा प्रमुख रवि कुमार भास्करले सरसफाईमा बढी जोड दिन आग्रह गरे ।
अभिमुखीकरण कार्यक्रममा डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटीस रोगका कारक लामखुट्टेका जात, तिनले अण्डा दिने ठाउँहरूको विषयमा जानकारी दिनुका साथै बच्ने उपायहरूबारे जानकारी गराइएको थियो ।
डेंगु, मलेरिया जस्ता लामखुट्टेको टोकाईबाट हुने रोगबाट बच्न विद्यार्थीहरुलाई हप्ताको एक दिन सरसफाई गर्ने गृहकार्य दिन तथा सिकाउनु पर्नेमा उनले जोड दिए । किरा नियन्त्रणका लागि रसायनिक विषादी छर्किंदा अन्य आवश्यक किरा पनि मरेर परागशेचनको अभावमा वाली उत्पादन नहुने भएकाले वैकल्पिक उपाय रोज्नुपर्ने उनको भनाई थियो ।
सबैले सरसफाईमा ध्यान दिने, झुलको प्रयोग गर्ने, शरिर ढाक्ने कपडाको प्रयोग गर्ने, झ्यालढोकामा जाली लगाउने, विभिन्न किसिमका तेलको प्रयोग गर्ने जस्ता कार्य गर्दा किटजन्य रोगबाट बच्न सकिने उनको भनाई छ ।
विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण
जीतपुरसिमरा उपमहानगरले सामुदायिक विद्यालयहरुलाई प्राथमिक उपचारमा प्रयोग हुने औषधी सहितको बक्स वितरण गरेको छ । चोटपटक लाग्दा, पेट दुख्दा, पेट पोल्दा, झाडापखाला लाग्दा अपर्झटमा सहज होस भन्ने उद्देश्यले फस्ट एड बक्स वितरण गरिएको स्वास्थ्य प्रर्वद्धन शाखाले जनाएको छ । किट वितरण गर्दै शाखा प्रमुख भाष्करले यो सुरुवाती प्रयासको सदुपयोग गर्न तथा औषधी प्रयोग रेकर्ड राख्न र नजिकको स्वस्थ्य संस्थाबाट औषधी परिपुर्ती गर्न आग्रह गरे ।
पालिका अन्र्तगतका ६३ वटा सामुदायिक विद्यालय मध्ये २५ वटामा प्रती विद्यालय २ जना स्वस्थ्य दुत चुनिएको शाखाका सि.अहेव जितन ठाकुरले जानकारी दिए । तिनै स्वस्थ्य दुत मार्फत जुकाको औषधी वितरण गरिएको र आइरन वितरणको तयारी गरिएको उनले बताए । यो वर्ष नमुनाका रुपमा स्वास्थ्य चौकी नजिकका विद्यालयमा स्वस्थ्य दुत चुनिएकोमा अन्य वर्षहरुमा सबै विद्यालय समेट्ने योजना रहेको ठाकुरले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसादको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भास्करले सहजिकरण गरेका थिए ।